फुटबलको क्षेत्रमा वार्षिक एक करोड विनियोज गर्ने गठबन्धनको घोषणा

तु खबर संवाददाता
२०७९ बैशाख २१, बुधबार १२:०४

मकवानपुर । सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाभित्र फुटबलको विकास गर्न वार्षिक एक करोड रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडाको मेयरका उम्मेदवार मीना लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले फुटबल खेलाडीलाई हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमै पुगेर भेटघाट गरेका थिए ।

उनीहरुले खेलाडीको माग अनुसारको बजेट आफूहरु निर्वाचित भएपछि विनियोजन गर्ने प्रतिबद्धता जनाएका हुन् । मेयर र उपमेयरका उम्मेदवार लामा र बानियाँ बुधबार विहान मैदानमै पुगेर खेलाडीहरुसँग अन्तरक्रिया गरेका थिए ।

हेटौंडा फुटबल खेलाडी उत्पादनको हिसावले देशमै चर्चित भएका कारण आवश्यकता अनुसार बजेट विनियोजन गर्ने प्रतिबद्धता उम्मेदवारहरुले जनाएका हुन् । उनीहरुले खेल तालिका नै बनाएर प्रतियोगिता गर्नुपर्ने माग गरेका थिए । उम्मेदवारद्वयले समग्र खेलक्षेत्रको विकासमा पनि आफूहरुले काम गर्ने योजना ल्याएको र त्यसलाई कुशलतापूर्वक पूरा गर्न खेलाडी, प्रशिक्षक र खेलक्षेत्रका व्यक्तित्वहरुको सहयोग आवश्यक रहेको औंल्याएका थिए ।