एकीकृत समाजवादीका कमाण्डर एमालेमै फर्किए
मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरको जिल्ला अध्यक्षबाट राजीनामा दिएको भोलिपल्टै श्रीधर पोखरेल नेकपा एमालेमा प्रवेश गरेका छन् । हेटौंडा उपमहानगरपालिकाको मेयरको टिकट नपाएपछि असन्तुष्ट बनेका पोखरेलले बुधबार एकीकृत समाजवादी परित्याग गरी स्वतत्त्र बस्ने उद्घोष गरेका थिए । तर, २४ घण्टा नबित्दै उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर आफु आवद्ध पुरानै दलमा फर्किए ।
एमाले राजनीतिमा लामो समय सक्रिय रहेका पोखरेलले माधव नेपालले एकीकृत समाजवादी स्थापना गरेसँगै मकवानपुरको नेतृत्व सम्हालेका थिए । आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयर पाउने तय भएपछि उनले मेयर दावी गरेका थिए । एकीकृत समाजवादीले उनको नाम मेयरको लागि सिफारिससमेत गरेको थियो । तर, पोखरेललाई छलफलमासमेत सहभागी नगराई एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलकी मुख्य सचेतक मुनु सिग्देलले टिकट मिनाकुमारी लामालाई दिलाएपछि पोखरेल रुष्ट बनेका हुन् ।
उनले पत्रकार सम्मेलनमा एकीकृत समाजवादी पार्टीलाई एउटा प्राइभेट कम्पनिको संज्ञा दिए । ‘मैले टिकट पाउनु वा नपाउनुसँग मात्रै मेरो विमती होइन, म जिल्लाको अध्यक्ष हुँ, मेरो नाम पनि सिफारिस भएको छ, मलाई छलफल प्रक्रियामा सहभागी नै नगराउने, एउटा प्रस्तावित व्यक्ति मात्र नभई जिल्लाको अध्यक्षलाई छलफल प्रक्रियामा सहभागी हुने अधिकार नै नहुने ?’ उनले भनेका थिए ।
एमाले प्रवेश गरेसँगै उनी एमालेको चुनावी प्रचारप्रसारमा देखिएका छन् । एमालेबाट हेटौंडाको मेयरका उम्मेदवार अनन्त पौडेलसँग चुनावी प्रचारप्रसारमा सक्रिय भएका छन् । पोखरेलको यो कदमसँगै गठबन्धनमा ठूलो धक्का लागेको राजनीतिक वृत्तमा चर्चा छ । उनीसँगै एकीकृत समाजवादी मकवानपुरको जिल्ला सचिवालय सदस्य र अरु पालिका स्तरका नेताहरुले समेत पार्टी परित्याग गरेका थिए । पोखरेलसहित जिल्ला सचिवालय सदस्य उत्तम न्यौपाने, विरेन्द्र डिसीसहित तीन दर्जन नेताहरुले पार्टी परित्याग गरेका हुन् ।

