हेटौंडा ४ मा सत्तारुढ गठबन्धनको वडा भेला
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ मा सत्तारुढ गठबन्धनले संयुक्त वडा भेला गरी वडाका नेता तथा कार्यकर्ता, सु्भेच्छुक र मतदाताहरुसँग साक्षात्कार गरेको छ । भेलामा गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको क्रमश मेयर र उपमेयर पदका उम्मेदवार मिना लामा र राजेश बानियाँले यो गठबन्धन संविधानको रक्षा एवम् देश र जनताको हितमा भएको बताए । उनीहरुले आम मतदाताले अब गठबन्धनका उम्मेदवारलाई मतदान गरी मुलुकबाट प्रतिगमनकारीहरुको अन्त्य गर्नुपर्ने बताए ।
सबै राजनीतिक दल, नागरिक समाज, पत्रकार एवम् बौद्धिक वर्गहरुसँग छलफल गरी आवश्यक राय, सुझाव संकलन गरी समृद्ध हेटौंडा उपमहानगरपालिका बनाउने दृढ संकल्पसहित आफुहरु चुनावी अभियानमा होमिएको र सबैको सहयोग पाए गठबन्धनकै उम्मेदवारहरुले जित हासिंल गरी जनताको पक्षमा काम गर्नेमा कुनै शंका नभएको उनीहरुको भनाई छ ।
कार्यक्रममा गठबन्धनबाट हेटौंडा–४ को वडा अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद पौडेलले आफु यसअघि पनि उम्मेदवार भई झिनो मतले पराजित हुनुपरेका कारण जनहितका काम गर्ने योजना अधुरै रहेपनि यस पटक पुरा गर्ने बताए । उनले आफु सेवाभावसहित राजनीतिमा आएको भन्दै वडा अध्यक्ष भएपश्चात राज्यबाट प्राप्त गर्ने सेवा सुविधा सबै आर्थिक विपन्नता भएका गरिब दुखी जनताको लागि खर्च गर्ने प्रतिवद्धता जनाए । ‘हामी भोलिबाटै घरदैलो अभियानमा जाँदै छौँ । उहाँहरुको मनोभावना अनुरुप नै योजनाहरु बनाउने छौँ । वडा अध्यक्ष भएपछि सोही योजनाहरुलाई कार्यान्वयन गरी समृद्ध वडा निर्माण गर्नुका साथै जनतालाई सहज ढंगबाट सेवा प्रवाह गर्नेछौँ ।’ उनले भने । उनले चुनावी अभियानमा सहयोग/सहकार्य गरी एक पटक सेवा गर्ने मौका प्रदान गर्न आम कार्यकर्तासमक्ष अपिल गरे ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलकी मुख्य सचेतक मुनु सिग्देल, माओवादी केन्द्रकी केन्द्रीय सदस्य प्रमिला पुलामी, नेपाली कांग्रेसका नेता प्रदिप कोइराला, समाजवादीका नेता ललित बस्नेतलगायतका नेता तथा सत्ता गठबन्धनका आम कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।



