हेटौंडामा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै एमाले
मकवानपुर । नेकपा एमालेले निर्वाचन आचारसंहिता विपरित सार्वजनिक सडकमा चुनाव चिन्ह बनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ स्थित सडकमा एमालेले चुनाव चिन्ह ‘सुर्य’ को तस्वीर बनाएर प्रचार गरेपछि अन्य राजनीतिक दलहरुले आपत्ती जनाएका छन् ।
निर्वाचन आचारसंहितामा निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले पचहत्तर ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्रकको नामसहितको पर्चा वितरण गर्न बाहेक कुनै पनि पोष्टर, भित्ते लेखन, तुल, व्यानर, डिजिटल डिस्प्ले छाप्न वा प्रयोग गर्न वा गराउनु नहुने उल्लेख छ ।
यस विषयमा मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले दलहरुले निर्वाचन आचारसंहिता अनुसार भित्ते लेखनका कुनैपनि काम गर्न नपाउने र यदि गरेको पाइएमा कानून बमोजिम कारवाही हुने बताए । ‘निर्वाचन आचारसंहिताको पालना सबैले गर्नुपर्ने हुन्छ । भित्ते लेखन, तुल व्यानरहरु छाप्न पाइदैन । यदि त्यसो गरेको खण्डमा नियमानुसार कारवाही हुन्छ ।’ उनले भने । एमालेले सार्वजनिक सडकमा चुनाव चिन्ह ‘सूर्य’ अंकित तस्विर बनाउनु आचारसंहिता विपरित भएको बताउँदै त्यसलाई तत्काल मेटाइनेसमेत उनले बताए ।
