भीमफेदी गाउँपालिका: बहालवाला अध्यक्ष र उपाध्यक्षलाई नै एमालेले उम्मेदवार बनाउने

तु खबर संवाददाता
२०७८ चैत्र २६, शनिबार १६:५८

मकवानपुर । नेकपा एमाले भीमफेदी गाउँपालिकाले आसन्न स्थानीय तह निर्वाचनमा बहालवाला गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई नै उम्मेदवारको रुपमा उठाउने निर्णय गरेको छ । शनिवार सम्पन्न गाउँ कमिटी बैठकले बहालवाला अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई नै पुनः सोही पदमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

२०७४ मा भएको स्थानीय निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका लामाले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी र नेपाली कांग्रेसको गठबन्धनका उम्मेद्वार रन्जित कुमार रानालाई पराजित गरेका थिए । अध्यक्ष पदमा लामाले ३ हजार ८४२ मत प्राप्त गर्दा गठबन्धनका उम्मेद्वार रानाले ३ हजार ६९८ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्ष पदमा रानाले गठबन्धनको उम्मेद्वार मोमलाल दोङलाई ३ सय ६७ मत अन्तरले पराजित गरिकी थिइन् । रानाले ३ हजार ८०२ मत पाउँदा नेपाली कांग्रेसबाट उठेका दोङले ३ हजार ४३५ मत प्राप्त गरेका थिए ।