हेटौंडाका दुई जना खेलाडीलाई नगदसहित सम्मान

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका दुई जना खेलाडीलाई नगदसहित सम्मान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बक्सर खेलाडी शुशीला घिमिरे र बक्सर रेफ्री लालबहादुर पौडेललाई नगदसहित सम्मान गरेका हुन् ।
मेयर महतले सोमबार एक कार्यक्रमबीच उनीहरु दुबै जनालाई जनही ४० हजार रुपैयाँसहित सम्मान गरेको जानकारी दिए । हेटौंडाको पिप्ले क्याम्पाडाँडामा एक वर्षमै रंगशाला निर्माण गरेर चर्चामा आएका घिमिरे र बक्सिङका प्रशिक्षक समेत रहेका पौडेलले खेल क्षेत्रमा धेरै योगदान गरेकाले नगदसहित सम्मान गरिएको मेयर महतले बताए ।
हेटौंडाका खेलाडी र खेलक्षेत्रलाई माथी उकास्न र उनीहरुका लागि हौसला प्रदान गर्नका लागि पनि सम्मान गरिएको उनको भनाई छ । दुबै जना तीन दशकदेखि खेलक्षेमा लागेका थिए । दुबै जना राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा खेल क्षेत्रमा योगदान रहेको छ । सम्मान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिबराज चौलागाईं, प्रशासन साखाका प्रमुख रामकृष्ण थापा लगायतकाको आतिथ्यता रहेको थियो ।