हेटौंडा–९ मा चैत्र २५ गतेबाट टाइफाइडविरुद्धको खोप लगाइने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा यही चैत्र २५ गतेबाट टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । देशब्यापी रुपमा सुरु भएको टाइफाइड रोगविरुद्धको खोप लगाउने अभियानअनतरगत हेटौंडा–९ मा चैत्र २५ गते खोप लगाइने भएको लामसुरे शहरी स्वास्थ्य केन्द्र हेटौंडा–९ की इन्चार्ज मिना कुमारीले जानकारी दिइन् ।
चैत्र ३० गतेसम्म संचालन हुने उक्त खोप अभियान अन्तरगत वडाका करिब ३ हजार ३ सय बालबालिका लाभान्वित हुने अनुमान गरिएका उनले बताइन् । वडा स्तरबाट नै संचालन हुने खोप अभियानको लागि सोमबार अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ । स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, वडाका जनप्रतिनिधि, वडा भित्रका विद्यालयका प्रतिनिधि, युवा क्लब, बाल क्लब, टोल विकास संस्था, आमा समूह तथा महिला समुहका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।
उक्त खोप १५ महिनादेखि १५ वर्षसम्मका बच्चाहरुलाई टाइफाइडले धेरै असर गर्ने भएकाले उक्त उमेर समुहलाई लक्षित गरेर खोप अभियान सुरु गर्न लागिएको स्वास्थ्य इन्चार्ज कुमारीले बताइन् । उनका अनुसार, खोप लगाउनका लागि सुरुवातमा विद्यालय पढ्ने बालबालिकालाई हरेक दिन विद्यालय मै गएर खोप लगाइने छ ।

अभियानको पहिलो चैत्र २५ गते प्रगती मावि, २६ गते मोर्डन मावि, २७ गते कृष्ण आदर्श मावि, २८ गते दिब्य ज्योती प्रावि, २९ गते रस्सल एकेडेमी र त्रिवेणी आधारभूत विद्यालय र ३० गते विद्यालय नजाने तथा छुटेका बालबालिकाहरुलाई लामसुरे शहरी स्वास्थ्य केन्द्रमै खोप लगाइने इन्चार्ज उनले जानकारी दिइन् ।
हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य लक्ष्मी नेपाली, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–९ का अध्यक्ष यदुवंश खतिवडा, लामसुरे शहरी स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका उपाध्यक्ष बिनोद लामिछानेलगायतकाको उपस्थिती रहेको थियो ।
