सर्लाहीमा बस दुर्घटनाः ४ जनाको मृत्यु, ३ दर्जन घाइते

तु खबर संवाददाता
२०७८ चैत्र १३, आईतवार १५:१०

काठमाडौँ । सर्लाहीको फुलजोर खोलाको पुलबाट यात्रुबाहक बस खसेर दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी ३ दर्जन यात्रु घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु भएका चार जनाको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको र घाइतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना४ख ८५५५ नम्बरको यात्रुबस आइतबार बिहान पुलबाट तल खसेको हो । घाइतेको उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनाको थप विवरण भने आउन बाँकी छ । बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको प्रहरीको प्रहरीको आशंका छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।