जनताको सेवा पाउने अधिकार कुण्ठित गर्दै मकवानपुरगढी गाउँपालिका
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले अनावश्यक रुपमा सार्वजनिक विदा दिने निर्णय गरेर सर्वसाधारणको सेवा पाउने अधिकार कुण्ठित गरेको भन्दै नागरिकस्तरबाट विरोध भएको छ । शनिवार मकवानपुरगढी बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा भएको थियो । त्यसैको खुसीयालीमा आज आइतबारको लागि सार्वजनिक विदा दिइएकोमा जनस्तरबाट विरोध भएको हो ।
गाउँपालिका अध्यक्ष विदुर हुँमागाईले आफूखुशी सार्वजनिक विदा दिने निर्णय गरेको भन्दै सर्वत्र आलोचना भएको छ । सार्वजनिक विदा दिएर गाउँपालिकाले सर्वसाधारणको सेवा पाउने अधिकार कुन्ठित गरेको भन्दै स्थानीयहरुले गुनासो गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीद्वारा हस्ताक्षर गरिएको सूचनामा गाउँपालिका क्षेत्रमा रहेका सरकारी तथा गैरसरकारी संस्थालाई लागू हुनेगरी सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ । पछिल्लो समय विभिन्न बाहानामा मकवानपुरगढीले विदा दिने नाममा जनतालाई सास्ती दिने गरेको स्थानीयहरुको गुनासो छ ।
‘बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका भएको खुसीयालीमा सार्वजनिक विदा दिने हो र ? झन् कार्यालय पूर्ण रुपमा संचालन गरेर नागरिकलाई सेवा प्रवाह गर्नुपर्ने पो हो त, सकिन्छ भने अन्य समयमा भन्दा केहीबेर बढी कार्यालय संचालन गरी जनताको लामो समयदेखि अड्किएका कामहरु फुकाइदिनुपर्ने हो । जनताको काम गर्ने चाहाना नभएकाहरुलाई सार्वजनिक विदा बाहाना मात्रै हो ।’ एक जना स्थानीयले गुनासो गरे । सार्वजनिक विदा भएसँगै टाढाबाट वडा कार्यालयहरुमा नागरिकताको सिफारिस लिन आएकाहरु निराश भएर फर्किएका छन् ।

