बागमती प्रदेश पुरुष फुटबलको उपाधि मकवानपुरलाई

मकवानपुर । प्रदेश खेलकुद परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको उपाधि मकवानपुरले हात पारेको छ । आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित क्याम्पा रंगशालामा भएको फाइनल खेलमा ट्राईब्रेकरमा मकवानपुरले ललितपुरलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा गएको थियो । खेलको पहिलो हाफको ४ मिनेटमा ललितपुरका विक्की महर्जनले गोल गरेका थिए भने मकवानपुरको तर्फबाट ७ मिनेटमै ललित चौलागाईले एक गोल फर्काएका थिए । खेलको ३६ औं मिनेटमा मकवानपुरका समिरराज थोकरले थप एक गोल गरेका थिए ।
खेलको दोस्रो हाफको ६४ मिनेटमा ललितपुरका रोहित गिरीले एक गोल फर्काउदैं गोल बराबरीमा पुर्याएका थिए । निर्धारित समयमा दुबै टिमले थप गोल गर्न नसकेपछि खेल ट्राइवेकरमा पुगेको थियो । जितसँगै मकवानपुरले नगद एक लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, उपविजेता बनेका ललितपुरले नगद ८० हजार रुपैयाँसहित, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।