नेपाल आइडल सिजन–४ को उपाधि भूपेन्द्र थापा मगरलाई

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन–४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले हात पारेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।
उपाधिसँगै भूपेन्द्रले ३० लाख रुपैयाँ नगद प्राप्त गरे । नेपाल आइडल सिजन–४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । उनीहरुले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गरेका थिए । उनीहरुले गिटार र १० लाख बराबरको बीमा सुविधा प्राप्त गरे । एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ ।