बागमती प्रदेश प्रमुख र नेपाली सेनाका मध्य कमाण्डका उपरथीबीच शिष्टाचार भेटवार्ता
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा र नेपाली सेनाका मध्य कमाण्ड पोखराका उपरथी बाबुराम श्रेष्ठबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार भेटवार्ता भएको हो ।
भेटका क्रममा प्रमुख शर्माले आम नागरिकको सेवाका लागि देशको आर्मीले सक्रियतापूर्वक महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रसंशा गरे । ‘नागरिकको सेवाका लागि नेपाली सेनाले निर्वाह गरिरहेको भूमिका प्रसंशनीय छ ।’ भेटका क्रममा शर्माले भने, ‘विभिन्न विपद् व्यवस्थापन, उद्दारका काममा यहाँहरुले विशीष्ट योगदान पुर्याउनुभएको छ ।’
समाजमा रहेका नागरिकका भावना बुझ्दै आफ्ना कार्यमा सेना लागिपरेको बताउँदै शर्माले समाजको उत्थान तथा विकासका लागि सेनाको योगदान सह्राहनीय रहेको उल्लेख गरे । प्रमुख शर्माले सिमान्त समुदायका नागरिकलाई मूलधारमा ल्याउँनका लागि नेपाली सेनासँग सहकार्य गरिनुपर्ने बताए ।
कुराकानीका क्रममा उपरथी श्रेष्ठले आफूहरु नागरिकको सेवाका लागि लागिपरेको बताउँदै प्रदेश प्रमुखसँगको भेटले थप उत्साह मिलेको बताए । वर्षायाम सुरु हुन लागिरहेकाले आफूहरु विपद् व्यवस्थापनको तयारी अवस्थामा रहेको उपरथी श्रेष्ठले बताए ।
भेटमा प्रमुख शर्माले उपरथी श्रेष्ठलाई मायाको चिनोका रुपमा काठको ठेकी प्रदान गरेका थिए ।

