१ लाख म्यादी प्रहरी भर्ना लिन अर्थ मन्त्रालयको अनुमति
काठमाडौं । अर्थ मन्त्रालयले आसन्न स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अनुमति दिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेकोमा अर्थ मन्त्रालयले १ लाखका लागि मात्र आवश्यक बजेट निकासा दिन अनुमति दिएको हो ।
२०७९ बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा सरकारले ४० दिनका लागी म्यादी प्रहरीलाई भर्ना लिने भएको छ । चैत्रको पहिलो साता दरखास्त आह्वान गर्नेगरी तयारी भइरहेको जनाइएको छ । म्यादी नियुक्ति गर्ने मापदण्ड गृह मन्त्रालयबाट स्वीकृत हुन बाँकी छ । सो मापदण्ड स्वीकृत भएपछि दरखास्त लिएर चैत्र २८ बाट म्यादी नियुक्त गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । म्यादी प्रहरी २०७९ बैशाख ३० मा चुनाव भएपछि थप एक साता सेवामा रहन्छन् ।
चुनावमा खटिने म्यादीले ४० दिन काम गरेपछि ३० हजार २ सय ८० रुपैयाँ तलब पाउँछन् । रासन बापत उनीहरुलाई ७ हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । उनीहरुले ६ हजार बराबरको लत्ता कपडा र १ हजार गाडी भाडा पाउँछन् । दुई जोर जुत्ता, मोजा, झुल र स्ल्पिङ ब्याग उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । रासन र कपडासहित एक जना म्यादी प्रहरीका लागि राज्य कोषको ४४ हजार ४ सय ८० रुपैयाँ खर्च हुन्छ ।
