बागमती प्रदेश प्रथम पुरुष फुटबल : आज दुई खेल हुँदै
मकवानपुर । बागमती प्रदेश प्रथम पुरुष फुटबल प्रतियोगिता अन्तरगत आज दुई खेल हुने भएको छ । प्रदेश खेलकुद विकास परिषदको आयोजनामा भइरहेको प्रथम पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने भएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ क्याम्पाडाँडास्थित रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको पहिलो खेल रामेछाप र सिन्धुपाल्चोकबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल मकवानपुर र नुवाकोटबीच प्रतिस्पर्धा हुनेछ । आज पहिलो खेल १ बजेदेखि र दोस्रो खेल ३ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
आइतबार भएको खेलमा ललितपुरले विजयी सुरुवात गरेको थियो । चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुरले विजयी सुरुवात गरेको थियो । त्यस्तै, हिजैै हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितामा चितवन, सिन्धुली, रसुवा, काभ्रेपलान्चोक, ललितपुर, रामेछाप, धादिङ र नुवाकोट जिल्ला क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
