हेटौंडामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण निति विषयक कार्यक्रम

तु खबर संवाददाता
२०७८ फाल्गुन २३, सोमबार १७:५६

मकवानपुर । मकवानपुरको हेटौंडामा आज लैङ्गिक समानता, सामाजिक समावेशीकरण निति विषयक एक दिवसीय कार्यक्रम भएको छ । उक्त कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौंडा र मानव अधिकार तथा लैङ्गिक न्यूनिकरण, जिल्ला संजाल मकवानपुरको संयुक्त आयोजनामा भएको हो ।

११२ औं अन्तरािष्ट्रय महिला दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता भन्ने मूल नाराका आयोजना गरिएको हो । कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठलेको प्रमुख आतिथ्यता रहेको थियो ।

सो क्रममा प्रमुख अतिथि श्रेष्ठले प्रदेशमा महिला, बालबालिका तथा सिमान्तकृत वर्गबीचको लैङ्गिक विभेद, महिलाविरुद्धका हिंसाका घटनाका विभिन्न रुपहरु सार्वजनिक हुँदै आइरहेको बताउँदै यस्ताखाले घटनामा संलग्न पीडक आरोपितलाई कानुनी दायरामा ल्याउन नसकेको बताइन् ।

उनले प्रदेशमा गरिबी, अशिक्षा, जनचेतनाको अभावका कारण महिला तथा बालबालिकाको हिंसाको घटनामा कमी नआएकोमा चिन्ता व्यक्त गरिन् । संविधानले दिएको हक अधिकार, कार्यान्वय र सुनिश्चित गर्न बाँकी रहेकोले नागरिक समाज संघसंस्थाहरुले आफ्नो अभियानलाई साझेदारीका साथ अगाडि बढाउनु पर्नेमा जोड दिइन् । प्रदेशस्तरमा महिला लैङ्गिक विभेदको अन्त्य गर्न नीति, निर्माण तर्जुमा गरी कार्यान्वयनमा ल्याउनेतर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने उनले बताइन् ।

यस्तै, सोही क्रममा इन्सेक केन्द्रीय कार्यालयका कार्यकारी निर्देशक विजयराज गौतमले आफ्नो संस्थाले स्थापनाकालदेखि लगातार मानव अधिकार, संरक्षण र संवद्र्धन गर्न क्रियाशील रहेको बताए । आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक अधिकार सम्बन्धी विषयलाई इन्सेकले ग्रामीण भेगका जनतासमक्ष उजागार गरिरहेको पनि उनको भनाई छ ।

यसैगरी, इन्सेक बागमती प्रदेशका संयोजक कृष्ण गौतमले इन्सेक संस्थाले लगातार ३० वर्षदेखि गरेको मानव अधिकार उल्लङ्घन ज्यादतीका घटनाको अभिलेखनकरणले लैङ्गिक विभेद तथा संरचनागत महिला हिंसाका घटनाहरु न्यूनिकरण गर्न मानव अधिकार, संवद्र्धनको लागि चुनौतीको विषय बनेको बताए । उनले कानुन कार्यान्वयन गर्ने निकायको जवाफदेहितामा कमजोरीको कारण यस्ता प्रकारका घटना दिनानुदिन वृद्धि भइरहेको बताए ।