कम्युनिष्टका कमाण्डर कांग्रेसलाई गुट रहित बनाउने अभियानमा
मकवानपुर । भीमसेन महत, यो नाम मकवानपुरमा मात्र होइन, लामो राजनीतिक जीवन भएकाहरुबीच अन्यत्र पनि चर्चित नाम हो । राजनीतिक रुपमा लामो यात्राका एक यात्री हुन् भीमसेन । ३ दशकबढी कम्युनिष्ट राजनीतिमा सक्रिय रहेका उनी हालसालै कांग्रेस मकवानपुरको सचिव निर्वाचित भएका छन् । २०७४ सालमा कांग्रेसमा आवद्ध भीमसेनको राजनीतिक चिन्तन, हार्दिकता, सरलता, र कार्यकुशलताले उनलाई कांग्रेस कार्यकर्ता तथा आम जनतामाझ लोकप्रिय बनाइदिएको छ ।
२०२३ सालमा आमा पद्मादेवी र बुवा रमेशबहादुरको छोराको रुपमा जम्मिएका उनी २०३७ सालमा भुटनदेवी माध्यामिक विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा राजनीतिमा प्रवेश गरे । उनी कम्युनिष्ट विचारधारको विद्यार्थी संगठन अनेरास्ववियूमा आवद्ध भए । कम्युनिष्ट पारिवारिक पृष्ठभूमि भएकै कारण अनेरास्ववियूको राजनीतिमा उनको लगाव थियो । २०४५ पछि उनी एमालेको विद्यार्थी संगठनमा सक्रिय भए । त्यतिबेलाको राजनीतिक आन्दोलनहरुमा विद्यार्थी संगठनतर्फको मोर्चाको नेतृत्व गर्दै उनी राजनीतिमा अघि बढे ।
२०४६ सालको आन्दोलनमा उनको भूमिका सशक्त रह्यो । मुलुकमा राजनीतिक परिवर्तनहरुमा स्थानीय तहबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै बैचारिक राजनीतिमा खरो उत्रिने भीमसेन जनतामाझ लोकप्रिय बन्दै गए । २०५३ असोज ४ गते नेपालले भारतसँग महाकाली सन्धी गर्यो । सोही सन्धी तत्कालिन नेकपा एमाले विभाजनको कारण थियो । सन्धीका पक्षधरमध्येका केपी शर्मा ओली हालका एमाले अध्यक्ष छन् । ओलीले सन्धी पारित गर्न मुख्य भूमिका निर्वाह गरेका थिए । त्यसका लागि उनले पार्टी विभाजन भए होस् भनेर कठोर कदमहरु चालेका थिए ।

सन्धीकै कारण अन्नत, २०५४ मा एमाले विभाजन भयो । त्यसलगत्तै मुलुकभर देशभक्त बाम प्रजातान्त्रिक मञ्च खडा भयो । सोही मञ्चमा मकवानपुरबाट भीमसेन पनि आवद्ध भए । महाकाली सन्धीमा एमालेको संलग्नता रहेकै कारण एमालेप्रति उनको वितृष्णा बढेको थियो । भीमसेन मञ्चकै तर्फबाट २०५४ मै तत्कालिन हेटौंडा नगरपालिका वडा नम्वर ५ को वडा अध्यक्ष पदको उम्मेदवार बने । तर, विजयी हुन सकेनन् ।
२०५९ पछि भने उनी नेकपा मालेको राजनीतिमा आवद्ध भए । २०६० सालमा जिल्ला सदस्य भएका भीमसेनले २०६३ मा सचिव हुँदै ०६७ मा मालेको केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्जको जिम्मेवारी पनि पाए । उनले एक दशकबढी माले मकवानपुरको नेतृत्व सम्हाले । मकवानपुरमा मालेलाई स्थापित गराउन भीमसेनको महत्वपूर्ण योगदान रहेको छ । तत्कालिन समयमा जिल्लामा १८ जना संगठीत सदस्य जम्मा पारेर पार्टी निर्माण गरेका भीमसेनले सो संख्यालाई बढाउँदै ५ सय बढी पुर्याए । उनले तत्कालिन समयमा ‘भ्रष्टाचार शुन्य मकवानपुर नेकपा मालेको अभियान’ चलाएर भ्रष्टाचार विरोधी अभियानमा होमिए त्यतिबेला भीमसेन भ्रष्टचार विरोधी अभियान बोकेर सरकारी अड्डा अदालत पुग्ने गर्दथे । सरकारी कार्यालयको अनुगमन तथा मूल्याङ्कनमा समेत उनी सक्रिय रहे । राजश्व संकलनमा भइरहेको बेथितिविरुद्ध आवाज उठाएकै कारण उनी जनतामाझ थप परिचित हुँदै गए र आफ्ना एजेण्डा स्थापित गर्न सफल भए ।

मालेबाटै २०७४ को स्थानीय तह निर्वाचनमा भीमसेन हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार बने । सो निर्वाचनमा उनका सहोदर दाजु हरिबोल एमालेबाट उम्मेदवार थिए । दाजुले चुनाव जिते, भीमसेनले सम्मानजनक मत पाए । त्यतिबेला जनताबीच पार्टीको विचार पुर्याउन र पार्टीको उपस्थिति जनाउन मात्रै उनी मेयरको उम्मेदवार बनेको बताउँछन् ।
मालेमा छँदा देखिनै उनी राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तप्रति आकर्षित थिए । मेयरमा पराजित भएपछि केही महिना उनले राजनीतिबाट टाढा रहने विचार गरे र त्यस अवधिमा स्व. विपीको आदर्श र सिद्धान्त अध्ययन गरे । २००७ सालपछिको परिवर्तनमा कांग्रेसको भूमिका पनि सोही अवधिमा अध्ययन गरे । ‘अध्ययनपश्चात कांग्रेसले उठाएको एजेण्डा जनताको हितमा हुने रहेछ र उसको एजेण्डा स्थापित हुँदो रहेछ भन्ने मैले निश्कर्ष निकालेँ । कांग्रेसकै नीतिले देश चलेको रहेछ भन्ने मेरो बुझाई रह्यो । कांग्रेसकै खुला अर्थनीतिका कारण देशमा राजश्व संकलनमा बृद्धि भएको रहेछ, देश विकासमा पनि कांग्रेसको भूमिका मैले पाएँ । मानवीय संवेदनाको कुराहरु, समाजवाद, एजेण्डामाथिको अडानलगायतका विषयले कांग्रेसप्रति आकर्षण बढ्यो । त्यतिबेला कांग्रेसमा रहेर राजनीतिमा सक्रिय रहन मलाई अनुरोध भएपछि म आवद्ध भएँ ।’ उनले भने ।

कांग्रेस प्रवेश गरेका भीमसेनलाई त्यतिबेला कार्यकारी पद दिइएन । तर, उनको अभियान भने रोकिएन । उनी निरन्तर कांग्रेस कार्यकर्ता तथा जनताको बीचमा पुग्न थाले । १०२ वटै वडामा पुगेर त्यहाँको समस्या सुनिदिने, समाधानको पहल गर्ने, उनीहरुसँग सम्पर्कमा रहने कार्यलाई भीमसेनले निरन्तरता दिए । फलस्वरुप कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगतको मकवानपुर अधिवेशनबाट उनीे सर्वाधिक मतसहित सचिव पदमा विजयी भए ।
‘चुनाव जित्न पैसा चाहिन्छ भन्ने होइन रहेछ, हामी शहरमुखी भएका छौँ । जनतासमक्ष पुग्नुपर्ने रहेछ । उहाँहरुसँग घुलमिल हुनुपर्ने रहेछ । विचार र इमान्दारिताबाट पनि चुनाव जितिने रहेछ । मैले कार्यकर्तासँग भेटेर विचार बाँडे सोही विचारले आज मलाई सर्वाधिक मत प्राप्त भयो । उहाँहरुको मतको म सँधै कदर गर्छु । यसबाट मैले जिम्मेवारी र चुनौती एकैसाथ थपिएको महसुस पनि गरेको छु । उहाँहरुको हरेक सुखदुखमा साथ रहने मेरो प्रतिवद्धता छ ।’ उनले भने ।
कार्यकालभरी आफु गुटरहित कांग्रेस बनाउने अभियानमा जुट्ने उनले बताए । ‘निर्वाचनको बेला, विभिन्न पक्ष वा गुट देखा पर्नु स्वभाविक नै मानिन्छ । तर, लामो समयसम्म यो गुट, त्यो गुट भनेर सक्षम व्यक्तिको राजनीतिक भविष्य नै समाप्त पार्ने जुन काम भइरहेको छ, त्यसको अन्यका लागि मेरो प्रयास हुनेछ ।’ उनले भने ।
पार्टीलाई आर्थिक रुपमा सबल बनाउने, विधि पद्धतीमा आधारित भएर सक्रिय व्यक्तिलाई उपयुक्त अवसर प्रदान गर्ने, पार्टीको वडा तहसम्मको संरचनालाई सशक्त बनाउन र आर्थिक रुपले सबल बनाउन बैँक खाता संचालन गर्ने, जिल्ला सचिवालयलाई प्रविधियुक्त र चलायमान बनाउने, कांग्रेसलाई जवाफदेही र सूचनामैत्री बनाउने, जनताको समस्याको अभिलेख गरी क्रमश समाधान गर्दै लगिने उनी बताउँछन् ।

जवाफदेही राजनीतिका लागि जिल्लादेखि वडासम्मका संरचनालाई पार्टीको भातृ, सुभेच्छुक एवम् पेशागत संगठनसँग जोडेर सहकार्य गर्दै परिचालन गर्ने, महिला र युवा लक्षित कार्यक्रम ल्याउने, तरुण दल र नेवि संघलगायतलाई सशक्त बनाउने उनको योजना छ । पार्टीलाई चुस्त दुरुस्त बनाउँदै आसन्न स्थानीय तहमा कांग्रेसका सक्षम र राम्रा छबि भएका उम्मेदवारलाई टिकट दिलाउन पहल गर्ने र जिताउन दत्तचित्तले लागिपर्ने उनी बताउँछन् ।
राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उनको उपस्थिति बलियो छ । हरित पर्यावरण मञ्च मकवानपुरको अध्यक्ष, स्थानीय शान्ति समिति मकवानपुरको संयोजक हुँदै मकवानपुर क्याम्पस संचालक समितिमा २ कार्यकाल रहेर उनले कार्यकुशलता प्रदर्शन गरे । समाजका विकृति विसंगतीविरुद्ध कमल चलाउने भीमसेन नेपाल पत्रकार महासंघ मकवानपुरको २०५२ सालको निर्वाचनबाट उपाध्यक्षसमेत निर्वाचित भए । लोकपत्र राष्ट्रिय दैनिक, प्रयास साप्ताहिक, रेडियो निकासलगायत मिडियामा उनको आवद्धता थियो । उनी हाल टिम टेलिभिजनको संचालक समितिमा पनि छन् । उनले नेपाली कांग्रेसको इतिहास पुस्तक लेखेका छन् भने बार्हस्पत्य राजनीतिशास्त्रको अनुवाद गरेका छन् ।

व्यवस्थापन संकायमा स्नातकसम्मको अध्ययन पुरा गरेका भीमसेन खेलकुद क्षेत्रमा पनि उत्तीकै सक्रिय छन् । २०४२ सालमा नै राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गर्दै उत्कृष्ट खेलाडिको रुपमा सम्मानित भएका उनी मकवानपुर तेक्वान्दो संघको सल्लाहकार पनि भए । कानून विषयमा पनि अध्ययन गरेका भीमसेनको रुची आध्यात्मिक क्षेत्रमा पनि छ ।
