कांग्रेस मकवानपुरः दोस्रो चरणको निर्वाचन १ बजेबाट
मकवानपुर । कांग्रेस मकवानपुरको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन मंगलबार १ बजेबाट हुने भएको छ । सोमबार सम्पन्न निर्वाचनमा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने उम्मेदवार र निकटतम प्रतिस्पर्धीबीच चुनाव गरिन लागेको निर्वाचन समितिले जनाएको छ । समितिले मतदानको समय १ बजेदेखि साँझ ५ बजेसम्म तोकेको छ ।
दोस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याउने बुद्ध लामा र निकटतम प्रतिस्पर्धी आनन्दराम पराजुलीबीच प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचन १ बजेबाट ५ बजेसम्म हेटौंडा–१ डल्फीन चौरमा हुने उल्लेख गरिएको छ। सोमबार सम्मान मतपरिणाम अनुसार ५४९ मत सहित बुद्ध लामा पहिलो,५४५ मत सहित आनन्दराम पराजुली दोस्रो र ५३१ मत सहित जयराम लामिछाने तेस्रो भएका दिए । दुवै उम्मेदवारलाई विजयी हुन अब जयराम लामिछाने नेतृत्व टिमको मत आवश्यक देखिन्छ ।
अहिले बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सह महामन्त्री महालक्ष्मी उपाध्याय डीनासहितका नेताहरु छलफलमा छन् । बढी मत ल्याउने बुद्धको नेतृत्वमा सहमति जुटाउने प्रयासमा छलफल भइरहेको र सहमति नजुटेको अवस्थामा मात्रै निर्वाचन हुने जनाइएको छ ।

