एमसीसी स्वीकार्य छैनः झलनाथ खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसीबारे भएका सबै सम्झौता उपलब्ध गराउन माग गरेका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे संसदमा सुरु भएको छलफलमा भाग लिँदै एकीकृत समाजवादीका सांसद खनालले एमसीसीबारे १२/१३ वटासम्म सम्झौता भएको बताए ।
उनले आफुहरु भेडाबाख्रा नभई जनताको प्रतिनिधि भएको बताउँदै एसको विपक्षमा मतदान गर्न आग्रह गरे । अमेरिकाले दिने सहयोग नलिने भनेर कहिल्यै नभनेको उनले बताए । तर सम्मान र समानताका साथ दिइने सहयोग मात्र लिइने भन्दै खनालले भने, अहिले जस्तो खालको सम्झौता गरिएको छ, त्यस शर्तशर्तले बेरिएको छ । तीन शर्तहरु अमान्य छन् । उनले अघि भने, हामीलाई ५० करोड डलर अमान्य भएको होइन, १ खर्ब डलर दिएपनि लिन्छौं । थुप्रै प्रोजेक्टहरु छन् । तर शर्तहरु राखेर, नेपालको स्वाभिमानलाई तल पारेर कुनै सहयोग दिइन्छ भने हामीलाई एक पैसा पनि चाहिँदैन ।
नेता खनालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामा प्रतिनिधिसभाले गरेको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्छ कि गर्दैन भनी प्रश्न गरे ।
