भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक
काठमाडौं । संघीय संसद सचिवालयले भोलि आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ ।
यसैगरी, दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकारबीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ । यस्तै प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समिति बोलाइएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ । यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो ।
