बुधबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकको गिरावट आएको छ । मंगलबारको तुलनामा आज नेप्से दोहोरो अंकले घटेको हो । अघिल्लो दिन १७ अंकले बढेको नेप्से परिसूचक आज १५ दशमलव ५० अंकले घटेर २ हजार ७२० दशमलव ४३ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँको कारोबार भएको छ ।
यसअघि मंगलबार २२८ सूचीकृत कम्पनीको ६० लाख ८१ हजार ६०२ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब २१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । नेप्सेमा रहेका १३ उपसूचकमध्ये हाइड्रोपावर समूह र म्युचुअल फण्ड समूह बाहेकका सबै सूचक राताम्य भएका छन् । हाइड्रोपावर समूहको ३५.६६ रुपैयाँ र म्युचुअल फण्ड समूहको ०.१३ रुपैयाँले बढेको छ भने सर्वाधिक निर्जीबन बीमा समूहमा ११० रुपैयाँले घट्न पुगेको छ ।



