कांग्रेस बागमती प्रदेशः जगदिश्वर नरसिं केसीसहित ७ जना कार्यसम्पादन समितिमा मनोनित
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिको आइतबार सिन्धुपाल्चोकमा सम्पन्न दोस्रोे बैठकले नेता जगदिश्वरनरसिं केसीसहित ७ जनालाई कार्यसम्पादन समितिमा मनोनित गर्ने निर्णय गरेको छ । बैठकले केसीसहित लामा कर्पु तामाङ, बलबहादुर दमाई, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेको हो ।
त्यस्तै स्थानीय निकायको निर्वाचनलाई लक्षित गर्दै अघिल्लो स्थानीय तह निर्वाचनमा भएको मतसंख्या सहितको डाटा संकलन गरी, आगामी दिनमा खेल्नुपर्ने भूमिकासहित प्रदेशले जिल्ला पार्टीमा १५ दिनभित्र पठाउने र जिल्लामार्फत् स्थानीय निकायमा पठाउने निर्णय भएको छ । बैठकले एमसीसीको सम्बन्धमा केन्द्रले उठाएको विषयवस्तु समावेश गरी आम जनताले बुझ्ने सरल र स्पष्ट भाषामा थप विषयवस्तु तयार गरी जिल्लामार्फत् स्थानीय निकायमा पठाई जनतालाई बुझाउने निर्णय गरेको सह–महामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिए ।
त्यस्तै बैठकले प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य र विभिन्न समिति र विभागका सदस्यहरुको मासिक लेवी तोकेको छ भने कांग्रेस बागमती प्रदेश संसदीय दललाई प्रदेशसभा सदस्यबाट पार्टी केन्द्रमा बुझाउँदै आएको मासिक लेवी प्रदेश कार्यसमितिलाई बुझाउन पत्राचार गर्ने निर्णय भएको सह–महामन्त्री श्रेष्ठले जानकारी दिए ।
बैठकले प्रदेशको प्रधान कार्यालय हेटौंडा र काठमाडौंको सम्पर्क कार्यालय नियमित सञ्चालन गर्दै पार्टीको दैनिक राजनीतिक कार्यक्रम सुरु गर्ने, प्रदेश सदस्यहरुको मर्यादाक्रम मिलाउन संयोजक महामन्त्री कञ्चनचन्द्र बादे र सदस्यहरुमा सहमहामन्त्री जीवन डंगोल र ऋषिराम घिमिरे तोकिएका छन् भने प्रदेशको दोस्रो पूर्ण बैठक सिन्धुपाल्चोकको सुकुटेमा सफलतापूर्वक सम्पन्न गर्न सिन्धुपाल्चोक कांग्रेस र केन्द्रीय सदस्य मोहन बस्नेतलाई विशेष धन्यवाद दिने निर्णय गरेको छ ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमूख आतिथ्यतामा भएको बैठकमा प्रदेश पदाधिकारी, सदस्यहरु, जिल्ला सभापतिहरुले एमसिसी, स्थानीय निकायको निर्वाचन र प्रदेश कार्यसमितिले आगामी दिनमा प्रदेशले गर्नुपर्ने कार्यको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
