कार्यव्यवस्था परामर्श समितिको बैठक ११ बजे

तु खबर संवाददाता
२०७८ फाल्गुन ६, शुक्रबार ०८:४५
file-photo

काठमाडौँ । प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । गठबन्धन दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे रहेको विवादका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भए पनि एमसिसी कार्यसूचीमा छैन । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै एजेण्डा छ ।

कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमसीसी संसद्मा टेबल गर्नेबारे सहमति खोज्ने प्रयास गरिँदैछ । सो उद्देश्यले कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नुअघि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुने बुझिएको छ । विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुने छ । प्रतिनिधिसभा बैठक अघि सभामुख अग्नि सापकोटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद बैठक भने दिउँसो १ बजे बस्नेछ ।