प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेको नाराबाजी

तु खबर संवाददाता
२०७८ फाल्गुन ४, बुधबार १३:३९
file-photo

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी सुरु गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गराउनसाथ एमालेका सांसदहरूले नाराबाजी गरेका हुन् । उनीहरूले संसदीय सर्वोच्चता कायम गर, संसदीय मर्यादा कायम गरलगायतका नारा लगाउँदै बैठक अवरुद्ध पारिरहेका छन् ।

पार्टीले कारबाही गरेका १४ सांसदबारे सभामुख सापकोटाले सूचना टाँस नगरेको भन्दै एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ । एमालेले ती सांसदलाई कारबाही गरेको सूचना टाँस गर्न वा मार्गप्रशस्त गर्न सभामुखलाई भन्दै आएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका छन् ।त्यस्तै तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पनि पारित गरिएको छ । बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी भए पनि अन्तिममा दलहरुबीच सहमति नभएपछि टेबुल हुन सकेन ।