प्रतिनिधिसभाको बैठक भोलि बस्ने, एमालेले अवरोध जारी राख्ने
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बिहिबार बस्ने भएको छ । विभिन्न कारण लामो समयदेखि स्थगित हुँदै आएको बैठक भोलि दिनको १ बजे बस्ने तयारी भएको संघीय संसद्का प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए । बैठकमा प्रतिनिधि सभामा पेस गर्न बाँकी रहेका विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने सम्बन्धी सम्भावित कार्यसूची तयारीको क्रममा रहेको प्रवक्ता पाण्डेले बताए ।
उनले संसद् बैठक स्थगित गर्नेबारे कुनै सूचना नभएको बताए । गत पुस २१ गतेदेखि निरन्तर रूपमा सूचना टाँस गर्दै प्रतिनिधि सभाको बैठक स्थगित गर्दै आएको थियो । अमेरिकन सहयोग परियोजना एमसीसी संसद्मा टेबल गर्नका लागि सरकारले सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेको छ । सभामुख सापकोटाले भने सम्पूर्ण राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटेपछि मात्र संसद्मा अगाडि बढाउन तयार रहेको उनको सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध जारी राख्ने भएको जनाएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद् खोल्ने विषयमा एमालेको नीति परिवर्तन नभएको बताए । ‘हाम्रो पूर्ववत अभियान र अवरोध जारी नै रहन्छ, जबसम्म सभामुखले निर्णय सच्चाउनुहुन्न वा राजीनामा दिनुहुन्न त्यसबेलासम्म संसद् अवरोध जारी रहन्छ’, प्रमुख सचेतक भट्टराईको भनाइ छ ।
