सात महिनापछि बालुवाटार जाँदै ओली
काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते लावालस्करसहित बालुवाटार छाडेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बालुवाटार जान राजी भएका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गर्न बालुवाटार जान लागेका हुन् ।
यसबीचमा देउवाले दुई पटक बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए । ती दुबै बैठक सबै दलका प्रमुखहरूलाई बोलाइएको भए पनि एमाले अध्यक्षसमेत रहेका ओली आफू पनि गएनन्, पार्टीको तर्फबाट कोही प्रतिनिधिलाई पनि पठाएनन् । एमाले संसदमा निरन्तर अवरोध गरिरहने र सर्वदलीय बैठकको छलफलमा पनि सहभागी नहुने भएपछि प्रधानमन्त्री देउवाले ओलीसँग एक्लै कुराकानी गरेका थिए ।
पुस २४ गते देउवा आफैं ओली निवास बालकोट पुगेका थिए । देउवा बालकोट पुगेको एक महिनापछि ओली आज बालुवाटार आउन राजी भएका हुन् । समसामियक विषयमा छलफल गर्न भनेर देउवाले ओली र प्रचण्डलाई बालुवाटार बोलाएका हुन् ।
