स्थानीय तह निर्वाचनको मिति नतोके सातै प्रदेशमा आन्दोलन गर्ने एमालेको निर्णय

तु खबर संवाददाता
२०७८ माघ १९, बुधबार १७:३८

काठमाडौँ । नेकपा एमालेले सरकारले स्थानीय तह निर्वाचनको मिति विहिबार नतोके सातवटै प्रदेशमा आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले यसअघि जन संगठनहरुले निर्वाचन मिति तोक्न दवाबमुलक कार्यक्रम गरिरहेको भन्दै बिहीबार पनि मिति नतोके सातै प्रदेश र केन्द्रबाट समेत दवावका कार्यक्रम सुरु गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै बैठकले निर्णय राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र अन्तर्घातको छानविन गर्न कारवाहीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको छ । साथै महिला, युवा, विद्यार्थी र किसान महासंघ बाहेकका अन्य जन संगठनको महाधिवेशन प्रक्रिया अघि बढाउने एमाले सचिवालय बैठकले निर्णय गरेको छ । बैठकले पार्टीको नियमावली, जन संगठनको निर्देशिका पारित गर्नुका साथै सहकारी र स्थानीय निकाय विभागमा सदस्य थप्ने निर्णय गरेको नेता गुरुङले बैठकपछि जानकारी दिए ।