स्वास्थ्यमन्त्री लामाको परोपकारी कामः रगत किन्दा अब शुल्क तिर्नु नपर्ने
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमाले परोपकारी काम गरेका छन् । स्वास्थ्यमन्त्री भएदेखि स्वास्थ्य क्षेत्रको सुधारका लागि सक्रियतापूर्वक काम गरिरहेका उनले रगत किन्दा कुनै पनि शुल्क तिर्नु नपर्ने व्यवस्था गरेका हुन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘प्रदेश विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७८’ सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएसंगै अब रगत किन्दा
शुल्क नलाग्ने भएको हो ।
यसअघि ब्लड व्याग र परिक्षणको नाममा रकम भुक्तानी गर्नुपर्ने अवस्था रहेकोमा कार्यविधि स्वीकृत भएसंगै विपन्न नागरिक र आकस्मिक उपचारमा रगत लिंदा निःशुल्क रगत उपलव्ध हुने भएको हो । कार्यविधि अनुसार एकजना विपन्न नागरिकले एक आर्थिक बर्षमा बढिमा १० वटासम्म व्डल व्याग सेट र रक्तपरिक्षणसहित रक्तसंचार सेवा निःशुल्क पाउने छन् । त्यसैगरी, डायलासिस गराईरहनु पर्ने जस्ता रगत तथा रक्ततत्वसहित बढिमा १० वटासम्म थप ब्लड व्याग सेट र रक्त परिक्षणसहित रक्तसञ्चार सेवा निःशुल्क प्राप्त गर्नेछन् ।
दुर्घटना, विपद् लगायतका आकस्मिक अवस्थाका व्यक्तिले पनि यो सेवा निःशुल्क प्राप्त गर्ने कार्यविधिमा उल्लेख छ । कार्यविधि अनुसार रक्तसंचार सेला लिंदा रक्तसंचार सेवा प्रदायक संस्थामा विपन्न भएको स्वःघोषणापत्र वा विपन्न परिचयपत्र वा गरिवको परिचयपत्रको प्रतिलिपि , नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहबाट प्रदान गरिएको प्रदेश खुल्ने परिचयपत्रको प्रतिलिपि, रक्तसंचारसहित उपचार गराईरहेको वा उपचार गर्ने अस्तालको सिफारिस पत्रको प्रतिलिपि उपलव्ध गराउनुपर्ने छ । दुर्घटना, विपद् लगायतका आकस्मिक अवस्थाका व्यक्तिको हकमा उपचारका लागि खटिएका चिकित्सकको सिफारिस आवश्यक पर्दछ । रक्तसञ्चार निःशुल्क गर्दाको रकम स्वास्थ्य मन्त्रालयले सोधभर्ना गर्ने जनाईएको छ ।
‘विपन्न नागरिक र आकस्मिक उपचारमा रक्तसञ्चार सेवा निःशुल्क गर्दा रकम अभावका कारण स्वास्थ्य सेवा लिनबाट बन्चित हुनुपर्ने अवस्थाका नागरिक लाभान्वित हुनेछन् ।’–स्वास्थ्य मन्त्री लामाले भने । यसले स्वास्थ्य संवेदनशिलताप्रति बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको प्रष्ट पार्नुका साथै संविधानले अंगिकार गरेको मौलिक हकको प्रवद्र्धनमा कोशेढुंगा हुने विश्वास लिएको लामाले बताए ।
बागमती प्रदेशसभामा यसबारे आवाज उठाउँदै आएका प्रदेश सांसद नरोत्तम बैद्यले पनि प्रदेश सरकारको यो निर्णयको स्वागत गरे । उनले जनउत्तरदायी सरकारले गर्नुपर्ने काम गरेको बताउँदै यसबाट रकम अभावकै कारण रक्तसंचार सेवा लिन समस्या झेलिरहेका विपन्न वर्ग लाभान्वित हुने बताए । ‘रगत निःशुल्क भएपनि ब्लड व्याग र परीक्षणका नाममा रकम भुक्तानी गर्नुपर्ने अवस्था थियो, अब व्लड व्याग र परीक्षणबापतको रकम स्वास्थ्य मन्त्रालयले सोधभर्ना दिने भएपछि सम्पूर्ण रक्तसंचार सेवा निःशुल्क हुने भयो, यो स्वागत योग्य काम भयो ।’–उनले भने ।
हुनेले रकम भुक्तानी गरेर लिने र आर्थिक समस्यामा परेकाले निःशुल्क पाउने भएकाले अब रक्तसंचार सेवा सर्वसुलभ भएको उनले बताए । सरकारको यो निर्णयसंगै बागमती प्रदेशका बीर, पाटन जस्ता व्लड बैंक भएका सरकारी अस्पताल र जिल्लास्थित रेडक्रस सोसाईटीमा रहेको ब्लड बैंकबाट निःशुल्क रक्त संचार सेवा उपलव्ध हुने भएको छ ।
