सामुदायिक वन उपभोक्ता महासंघद्वारा वन मन्त्रालय अगाडि धर्ना
मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले बागमती प्रदेशको वन ऐन २०७६ संशोधन गर्न माग गर्दै हेटौंडास्थित वन तथा वातावरण मन्त्रालय अडाडि आइतबार धर्ना दिएको छ । महासंघले उक्त ऐन संशोधन, वन संरक्षण क्षेत्र घोषणा खारेज र संघीय वन नियमावलीमा सुधारका लागि सुझावसमेत दिएको हो ।
वन ऐनको ९४ वटा दफामध्ये ८० वटाभन्दा धेरै दफा नेपालको संविधान र संघीय वन ऐन २०७६ सँग बाझिएकोले ऐन संशोधन वा खारेज गरी नयाँ ऐन तर्जुमा गर्नसमेत माग गरिएको छ । नेपालको संविधानमा प्राकृति स्रोत र सोबाट प्राप्त लाभमा स्थानीय समुदायको अधिकार हुने उल्लेख गरिएको छ ।
संघीय वन ऐन, २०७६ मा सामुदायिक वनका माध्यमबाट वन व्यवस्थापन, स्वतन्त्र रूपमा वन पैदावारको बिक्री वितरण, वन उधम तथा पर्यापर्यटनको विकास, महिला सशक्तीकरण र गरिबी न्यूनिकरण गर्ने लक्ष्य लिइएको छ । तर यी व्यवस्थाअनुसार प्रदेश ऐनमा तालमेल नमिलेकाले संशोधन गर्न माग गरिएको महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाईंले जानकारी दिए ।
