यसकारण खुल्नुपर्छ विद्यालय

छवि अनित्य
२०७८ माघ १५,शनिबार २०:००

केही दिन अघि सामाजिक सञ्जालमा लेखेको थिएँ, हामी कोभिड नियन्त्रणको नाउँमा उल्टो दिशामा हिँडिरहेका छौँ । आज पनि त्यही दोहोर्याउँछु – बरु अरु सबै बन्द गरौँ तर स्कुल चाहिँ खोलौँ ।
२०७६ साल चैत्र पहिलो साताबाट विद्यालयहरू बन्द भए । त्यस वर्ष एकाध बाहेकका स्कुलमा वार्षिक परीक्षा पनि हुन सकेन । विद्यार्थीहरू स्वतः कक्षोन्नति गराइए । २०७७ सालमा मंसिर महिनापछि छिटफुट स्कुलहरू खुले । तीन महिना पनि पूरा नहुँदै फेरि मुलुक लकडाउनमा गयो । त्यस वर्ष पनि परीक्षा कार्यक्रमहरू प्रभावित बने । विद्यार्थीहरूले फेरि सुविधा पाए, कक्षा चढाइए । २०७८ सालको पहिलो चौमासिक अलमलमै बित्यो । भदौ महिनातिरबाट नीजि क्षेत्रको निरन्तरको दबाबपछि बल्लबल्ल विद्यालयहरू खुले । ‘दशैंमा मासुभात खान’ खोलेको आरोप पनि आयो संस्थागत विद्यालयमाथि । जे होस्, खुल्यो र पठनपाठन सुरु भयो । लगतै दशैं-तिहार, राजनीतिक दलहरूका स्थानीयदेखि केन्द्रीय महाधिवेशन लगायतका बीच केही महिना अघि बढ्दै मात्र थियो कि फेरि तेस्रो लहरको कोभिड महामारीले थलियो ।

यसबीचमा सरसर्ती हेरौं, २०७६ सालमा एक कक्षामा भर्ना भएको विद्यार्थीले फागुन महिनासम्म सावाँ अक्षर फुटाउन सक्ने भयो होला । तर त्यसको मूल्यांकन हुन पाएन । करीब नौ महिना विद्यालय बन्द हुँदा उसले जानेका सबै कुरा बिर्सिसकेको थियो । फेरि पनि २०७७ सालमा दुई कक्षामा त पुग्यो त्यहाँ सिक्यो के ? तीन महिनामा एक कक्षामा पढेका तर बिर्सिसकेका कुरा पूनःस्मरण गराउने प्रयासमा मात्रै विद्यालयले काम गर्न पाएको थियो, फेरि बन्द भयो । त्यो विद्यार्थी पुग्यो तीन कक्षामा !

२०७८ भदौमा तीन कक्षाको विद्यार्थीको रुपमा ऊ विद्यालयको रजिष्टरमा दर्ता त भयो, जानेको के छ ? उही एक कक्षामा पढेको सावाँ अक्षर ! जबकी सामान्य अवस्थामा तीन कक्षामा पुगेको बालबालिकाले सिक्नुपर्ने कुराहरूमा आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ ले निम्न सक्षमता हासिल गर्नुपर्ने उल्लेख गरेको छः
१. आधारभूत भाषिक तथा सञ्चार सिपको विकास र प्रयोग
२. आधारभूत गणितीय अवधारणा र सिपको विकास र प्रयोग
३. अनुशासन, सदाचार र स्वावलम्बन जस्ता सामाजिक एवम् चारित्रिक गुणको विकास
४. विज्ञान, वातावरण, सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञानको विकास
५. शारीरिक तन्दुरुस्ती, स्वस्थकर बानी र जीवनोपयोगी सिप (Life skills) को विकास
६. कला तथा सौन्दर्यप्रति अभिरुचि र सिर्जनात्मकताको विकास
७. आफनो परिवेशसँग परिचित भई विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति, क्षेत्रप्रति सम्मान र समभावको विकास ।
तर तपाईँ हाम्रो परिवेशका बालबालिकाले सिकेका छन् के ? केही पनि छैन ।

तपाईँको सहज प्रश्न आउन सक्छ, ‘विद्यालयले वैकल्पिक सिकाईको अवलम्बन गरेर यी सक्षमता हासिल गराउन किन सकेन ?’ के त्यसको लागि हामीसँग उपयुक्त वातावरण छ ? कसैले वैकल्पिक सिकाई अवलम्बन गरे-नगरेको अनुगमन र पृष्ठपोषण गर्ने निकाय पनि त यो मुलुकमा होला । ती निकाय कुन चीर निद्रामा छन् ?

म शहरोन्मुख क्षेत्रको एउटा विद्यालयमा पढाउँछु । हामीले पहिलो चरणको लकडाउनमा अनलाइन कक्षालाई प्रभावकारी ढंगले अघि बढायौँ । प्राथमिक तहमा टोलटोलमा अस्थायी सिकाई केन्द्रहरू मार्फत प्रत्यक्ष सिकाई क्रियाकलाप सञ्चालन गर्यौँ । पूर्वप्राथमिक तहमा साप्ताहिक वर्कसिटका माध्यमबाट सिकाई सहजीकरण गर्ने प्रयास भयो । तर हाम्रो सामाजिक वातावरणले प्रत्येक अभ्यासलाई गलत सावित गरिरह्यो ।
वर्कसिट मार्फत साप्ताहिक सिकाई उपलब्धी लक्षित क्रियाकलापहरू तय गरेर अभिभावकलाई पठायौँ तर त्यसलाई सहजीकरण गर्न आधाभन्दा बढी अभिभावक असफल हुनुभयो । विद्यालयले अभिभावकलाई पनि सँगसँगै पढाउनुपर्ने भयो, जुन सहज पक्कै थिएन । टोलटोलमा सिकाई केन्द्रहरू त सञ्चालित भए तर संक्रमणको सम्भावना त्यहीँ पनि हुनसक्थ्यो । विद्यालयमै हुने भौतिक कक्षा र सिकाई केन्द्रमा खासै फरक भएन । अझ बहुकक्षा शिक्षण गर्नुपर्ने हुँदा यसको प्रभावकारिता पनि कम हुन पुग्यो । अनलाईन कक्षा तुलनात्मक रुपमा प्रभावकारी त भयो तर लगतै अभिभावकको गुनासो आयो – ‘मोबाइलले बच्चा खत्तम पार्यो ।’

अर्थात् सचेत र सक्षम अभिभावकत्वको अभावमा हरेक अभ्यासहरू असफलजस्तै नै रहे । बालबालिकाको सिकाई उपलब्धी यावत् प्रयासहरूका बाबजुद अपेक्षाकृत सफल हुन सकेनन् । समाचारहरूमा हामीले हेरिरहेकै छौँ कि गर्नेहरूले कतिसम्म गरिरहेका छन् । पहुँच, प्रविधि र पहल हुनेहरूले यसैलाई राम्रो अभ्यास गरेर उत्कृष्ट गरेका पनि छन् । तर छातीमा हात राखेर सोचौँ त के हामीले वा हाम्रो राज्यसंयन्त्रले त्यो वातावरण सबैका लागि उपलब्ध गराउन सकेको छ ? सबै पहुँच पुगेकै ठाउँमा पनि वैकल्पिक सिकाईमा बालबालिकाभन्दा बढी अभिभावकीय भूमिका महत्त्वपूर्ण हुन्छ । हाम्रोजस्तो शहरोन्मुख तथा ग्रामीण परिवेशमा जहाँ आधाभन्दा बढी अभिभावक आफ्ना बालबालिकालाई सिकाई सहजीकरण गर्न सक्दैनन् त्यहाँ वैकल्पिक सिकाईबाट उपलब्धी खोज्नु बालबालिकामाथिको अन्याय हुन जान्छ ।

अझ सुगमका विद्यालयहरूले गरेका असल अभ्यासका समाचार पढ्दै गर्दा वनमाराले ढाकेका कक्षाकोठाका समाचार पनि सँगै आएकै थिए । त्यसकारण मूल्यांकन, विश्लेषण एकपक्षीय ढंगबाट मात्रै हुनुहुँदैन ।
मूख्य मुद्दा राष्ट्रको मूल प्राथमिकताको क्षेत्र के हो ? भन्ने नै हो । प्रत्येक पटक हामीले महामारीमा पहिलो निशाना विद्यालयलाई नै बनायौँ । यतिसम्मको सोच राखियो कि हो न हो कोभिड संक्रमणको जड भनेकै विद्यालय हुन् । शिक्षकहरू भाइरसका मुहान नै हुन् जसले सजिलै विद्यार्थीसम्म त्यसको प्रसार गरिदिन्छन् ! ओमिक्रोन भेरियन्ट फैलिएपछिको पछिल्लो अभ्यासलाई नै हेरौँ । बालबालिकालाई भीडभाडबाट अलग राख्न र संक्रमणबाट बचाउनका लागि विद्यालयहरू बन्द गरिए । बन्द भएको भोलिपल्टैदेखि पर्यटकीय क्षेत्रहरूमा अभिभावकसँग तिनै बालबालिका ‘छुट्टी मनाइरहेका’ तस्वीर सामाजिक सञ्जालमा भरिन थाले । बिबाह-भोजहरूमा बालबालिका कतै छुटेनन् । सार्वजनिक यातायातमा कोचिएर बाबुआमासँगै यात्रा गरिरहेका पनि उनै बालबालिका भेटिए । हामीले रोक्यौं चाहिँ के त ?

पच्चीस जनाभन्दा बढी भेला हुन नहुने भन्ने प्रशासनकै नाकै अगाडी दुईतीन सय जन्तीका लस्कर अहिले पनि छुटिरहेकै छन् । शहरका कुनै पनि पार्टीप्यालेस एक दिन पनि खाली छैनन् । बजारमा पाइला हालीनसक्नुको भीड छ । पर्यटकीय गन्तव्यस्थलमा उत्तिकै भीडभाड छ । विद्यालय मात्रै बन्द हुने बित्तिकै सबै समस्याको समाधान निस्किहालेको रहेछ त ? बालबालिका निश्चय नै भोलिको समाज र राष्ट्रका आधार हुन् । उनीहरूको सुरक्षा संवेदनशीलतामाथि मेरो प्रश्न हुँदै होइन । तर हामीले जे गरिरहेका छौँ त्यो सही बाटो होइन । यदि साँच्चै जोखिम नियन्त्रण गर्ने हो भने विद्यालयहरू खुला राखौँ र बाँकी सबै क्षेत्र बन्द गरौँ । बालबालिकालाई जोखिम आफ्ना शिक्षक वा सहपाठीबाट होइन, दिनहुँ भीडभाडमा ठेलमठेल गरिहिँड्ने आफ्नै अभिभावकबाट छ ।