प्रतिनिधिसभाको बैठक भोलि बस्ने

तु खबर संवाददाता
२०७८ माघ १५, शनिबार १६:३६
file-photo

काठमाडौं । प्रतिनिधिसभाको बैठक यही माघ १६ अर्थात भोलि आइतबार बस्दैछ । गत पुस ७ गते यता बस्न नसकेको बैठक भोलि दिउँसो १ बजे बस्ने भएको सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

यसअघि विभिन्न कारणका कारण पटक–पटक स्थगित भएको प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा के–के विषयमा छलफल गर्ने भन्ने विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएको सभामुख सापकोटाका प्रेस संयोजक न्यौपानेले बताए । उनका अनुसार, संसद्को एजेण्डा तय गर्न नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा परामर्श समितिको बैठक बोलाएको हो ।

यसअघि पुस १८ का लागि राखिएको बैठक माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका कारण स्थगित भएको थियो भने पुस २२ गते नेकपा एमालेको बैठकका कारण बस्न सकेको थिएन । त्यसैगरी, पुस २८ र माघ ३ का लागि बोलाइएको बैठक कोभिडका कारण बस्न सकेको थिएन ।