पूर्व मन्त्री ढकाल र श्रीलंकाका प्रधानमन्त्री राजापाक्छेबीच भेटवार्ता

तु खबर संवाददाता
२०७८ माघ १५, शनिबार १०:४२

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्छेसंग शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास टेम्पल ट्रीजमा भएको भेटमा आपसी सम्बध र क्षेत्रीय शान्ति तथा सुरक्षाको बारेमा छलफल भएको अध्यक्ष ढकालको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री राजापाक्छेले भगवान गौतमबुद्धको पवित्र जन्मस्थान लुम्विनीको विकासमा नेपालसँग सहकार्य गर्न श्रीलंका तयार रहेको बताए । उनले करिव ५ दशक अघि एक युवा सांसदको रुपमा आफुले लुम्बिनीको विकासको विषय उठान गरेकोसमेत स्मरण गरे ।

विश्व शिखर सम्मेलन २०२२ को विशेष दुतसमेत रहेका ढकालले श्रीलंका सरकारलाई आयोजकको तर्फबाट निमन्त्रणा पत्र पनि हस्तान्तरण गरे । अध्यक्ष ढकालले नेपाल र श्रीलंकाबीचकोे सम्बन्ध अझै प्रगाढ बनाउँदै दुवै राष्ट्रको विकासको सन्दर्भमा एक आपसमा सहयोग, सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए । भेटमा श्रीलंकाका उर्जामन्त्री गामिनी लोकूगे र डा. चुला शिनारत्ने लगायतको उपस्थिति रहेको थियो ।