उपत्यकामा आजदेखि जोरबिजोर प्रणाली लागू
काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्येनजर गर्दै त्यसको रोकथाम तथा न्यूनिकरणका लागि उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।
स्थानीय प्रशासन (काठमाडौं, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार सार्वजनिम र निजी सवारीसाधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने गरी उक्त प्रणाली लागू गरिएको हो । प्रशासनले सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ ।
यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालोमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा भनिएको छ । उक्त आदेश कार्यान्वयनका लागि आज बिहानैदेखि सुरक्षाकर्मीलाई ठाउँठाउँमा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



