आज गठबन्धन समन्वय समितिको बैठक बस्दै
काठमाडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बैठक बस्न लागेको संचारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार, सो बैठकमा आगामी निर्वाचनका सन्दर्भमा छलफल हुनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवा बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने पक्षमा छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संघीय चुनाव अगाडि गर्नुपर्नेमा जोड दिइरहेका छन् । शीर्ष नेताहरुबीच यस विषयमा सहमति नभएकाले बिहीबार बोलाइएको समन्वय समितिको बैठक स्थगित गरिएको थियो । उक्त बैठक स्थगित भएपछि बिहीबार साँझ प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको थियो । सोही भेटवार्तापछि समन्वय समितिको बैठक अपरान्ह ४ बजे बोलाइएको हो ।
