राष्ट्रिय सभा निर्वाचनका लागि एमाले र लोसपाबीच गठबन्धन

तु खबर संवाददाता
२०७८ माघ ६, बिहीबार १६:०५

जनकपुरधाम । आसन्न राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन हुने भएको छ । शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरेर दुबै दलका नेताहरुले गठबन्धनको सहमति भएको जानकारी दिएका छन् । दुई दलबीच मधेश प्रदेशको अन्यतर्फ एमाले उम्मेदवार उसमान अन्सारी र महिलातर्फ रुपाकुमारी यादवलाई समर्थन गर्ने सहमति भएको छ ।

एमालेले महिलातर्फका उम्मेदबार बिनादेवी साहलाई उम्मेदवार बनाएको थियो भने लोसपाले अन्यतर्फ उम्मेदवार तोके पनि उम्मेदवारी दिएको थिएन । १९ राष्ट्रियसभा सदस्य चयनका लागि १२ माघमा निर्वाचन हुँदैछ, जसमध्ये प्रदेश २ बाट महिला र अन्य समूहतर्फ सदस्य चयन हुनेछन् । मधेस प्रदेशमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादीका महमद खालिदले उम्मेदवारी दिएका छन् ।