वर्तमान सरकार सच्चिए संसद् चल्छ: पौडेल

तु खबर संवाददाता
२०७८ माघ ५, बुधबार १८:०९
file-photo

मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान सरकारले कटौती गरेको योजनाहरु यथावत रुपमा कार्यान्वयन गरे मात्रै संसद् चल्ने दिइने बताएका छन् । बुधबार संचारकर्मीहरुसंग कुराकानी गर्दै पौडेलले विद्युतीय सवारी खरिद तथा संचालन प्रक्रिया, पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माणलगायत योजनाहरु यथावत रुपमा कार्यान्वयन गरे मात्रै संसद् चल्ने दिइने बताए ।

उनले आफु नेतृत्वको सरकारले अघि बढाएका जनहितका योजनाहरु पूरा हुने डरले वर्तमान सरकारले कटौती गरेकोसमेत आरोप लगाए । ‘हामीले जनाको पक्षमा काम गरेको देखिने बेला भएको छ । कामको जस खाने बेलामा हामी सत्ताबाट बाहिरिएका छौँ । हामीले गरेको विकास निर्माण र जनहितका कामको उपलब्धी लुकाउन हामी अघि बढाएको योजनाहरु काटिएको काटिएका छन् । हामीले जनताको पक्षमा गरेका निर्णय लुकाउने काम भएको छ,’ उनले भने ।

उनले वर्तमान सरकारले मन्त्रालय विभाजनको निर्णय पनि सच्याउन आवश्यक रहेको बताए । संघीयताको मर्ममाथि नै आघात पुग्ने गरी दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरेर जनताको पक्षमा काम गर्छु भनेर आँखामा छारो हाल्ने काम वर्तमान सरकारबाट भइरहेको उनको भनाई छ । विगतको सरकारले जनअपेक्षा अनुसार काम गरेको कारण कसैले त्यसलाई लुकाउन नसक्ने पौडेलले दावी गरे ।
नेकपा एमाले जनताको पक्षमा काम गर्ने पार्टी भएकाले आगामी दिनमा पनि सरकारका यस्ता गतिविधिको निगरानी र विरोध गर्दै सरकारलाई सही बाटोमा हिड्न सचेत गराउँदै शसक्त रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने पौडेलले बताए ।

गएको पुस ८ गतेदेखि प्रदेशसभा बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । मन्त्रालय विभाजन, प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको दुई ठुला योजना भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण, विद्युतीय सवारी खरिद तथा संचालन तथा मन्त्रालय विभाजनका विषयमा विरोध गर्दै त्यसको औचित्य पुष्टि गर्नुपर्ने मागसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरिरहेको छ ।