अनि यसरी दलियो सिंहदरबारभित्रै कालोमोसो…

तु खबर संवाददाता
२०७८ पुष ३०, शुक्रबार २१:३३

काठमाडौं । शुक्रबार शिक्षा मन्त्रलायमा केएमसी सहितका मेडिकल कलेजका सञ्चालकले विद्यार्थीमाथी अनावश्यक रुपमा थोपरेको अतिरिक्त शुल्क खारेज गर्नुपर्ने माग गर्दै विद्यार्थीहरुले जारी राखेको आन्दोलनका विषयमा छलफल आयोजना गरिएको थियो । अपरान्ह तीन बजेतिर सिंहदरवारमा छलफल सकिएपछि नोबेल मेडिकल तथा केएमसी शिक्षण अस्पतालका मालिक सुनिल शर्माले केही पत्रकारहरुलाई अन्तर्वार्ता समेत दिन भ्याए ।

त्यसपछि छलफलका सहभागीहरु मन्त्रालयबाट बाहिरिँदै थिए । देशको प्रमुख प्रशासकीय निकाय सिहदरवारभित्रै कसैले अवाञ्छित गतिविधि गर्दा भनेर नोबेल मेडिकल कलेजका सञ्चालक शर्मा र मन्त्रालयका अधिकारीहरुले विरलै सोचेका थिए ।

जब नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा जब सिंहदरवारभित्रै रहेको शिक्षा मन्त्रालयको गेटमा आईपुगे, गेटैमा अनेरास्ववियू एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य अम्मर पुन, उपमहासचिव महेश श्रेष्ठले हत्तपत्त कालोमोसो दले । उनको अनुहारमा कालो पोतियो । मेडिकल कलेज सञ्चालकमाथि कालोमोसो दलिएपछि केहीबेल होहल्ला र हात हालाहालको अवस्था बन्यो ।

शिक्षा मन्त्रालयमा छलफल सकेर बाहिरिँदै गरेका शर्मालाई कालोमोसो दलिएपछि केएमसीका कर्मचारी क्षितिज निरौला र बिदुर रिजालले प्रत्याक्रमण गरेका थिए । उनीहरुले प्रहरीलाई पेलेर कालोमोसो दल्ने विद्यार्थीलाई कुटपिट गरेका थिए । सो भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ ।
तस्विरः मुकुन्द कालिकोटे