हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर भाँडियो

तु खबर संवाददाता
२०७८ पुष ३०,शुक्रबार २०:४१

काठमाडौं । नौ महिनाअघि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्टबीचमा मर्जर प्रक्रिया औपचारिक रुपमा सुरु हुँदा धेरैले नयाँ ब्राण्डबाट बैंकिङ कारोबार सुरु हुने सपना देखेको थिए । शेयर होल्डरहरुले समेत मालामाल हुने सपना साँचेका थिए । तर, नेपालको इतिहासकै ठूलो बिग मर्जरलाई हिमालयन बैंकको साधारणसभाबाट अस्वीकृत गरेसँगै सकिएको छ । नेपाल राष्ट्र बैंकले धेरै मेहनतपछि पहिलो पटक हुन लागेको बिग मर्जर असफल भएको छ । आज हिमालयन बैंकको बार्षिक साधारणसभाले नेपाल इन्भेष्टमेन्टसँगको मर्जरलाई अस्वीकृत गरेसँगै केन्द्रीय बैंकको बिग मर्जर प्रक्रिया असफल भएको हो ।

आज शुक्रबार सम्पन्न भएको साधारणसभामा हिमालयन बैंकका बहुमत लगानीकर्ताहरुले मर्जरको विरुद्धमा मतदान गरेर मर्जर अस्वीकृत गरेका हुन् । यससँगै नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रक्रिया औपचारिक रुपमा टुटेको छ । सरकारी स्वामित्वको सञ्चयकोष, नेपालकै पहिलो गभर्नर हिमालय शम्सेर जबराको लगानी रहेको हिमालयन बैंक र पृथ्वी बहादुर पाण्डेसहितका लगानी भएको नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर आजबाट औपचारिक रुपमा टुटेको छ ।

हिमालयन बैंकको बार्षिक साधारणसभाले मर्जर अस्वीकृत गरेसँगै नेपाल इन्भेष्टमेन्ट बैंकको यही माघ ४ गते हुने विशेष साधारणसभा समेत स्थगित हुँदैछ । नेपाली बैंकिङ इन्डष्ट्रिको चर्चित हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीचको बिग मर्जरले असफल भएसँगै आगामी दिनमा बिग मर्जरको भविष्यमाथि समेत प्रश्न चिन्ह उठेको छ । आज सम्पन्न भएको हिमालयन बैंकको साधारणासभामा १४ प्रतिशत सेयर रहेको कर्मचारी सञ्चय कोषले मर्जरको विपक्षमा मतदान गरेपछि भर्जर भाँडिएको हो । मर्जरमा जाने निर्णयसँगै कर्मचारी सञ्चय कोषले बैंकमा पठाएको प्रतिनिधि परिवर्तन गरेको थियो ।