एमाले सरकारमा नरहँदा पनि देश एमालेमय बनेको छ : कमल विष्ट

तु खबर संवाददाता
२०७८ पुष २८,बुधबार १०:२४

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश सदस्य कमल विष्टले अहिले एमाले सरकारमा नरहँदा पनि देश एमालेमय बनेको बताएका छन् । मंगलबार पूर्वी मकवानपुरको बकैया–१० मन्थलीको धुवाँकोटमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य विष्टले ४१ महिना सरकारमा रहँदा गरेको विकास निर्माणको कामले अहिले एमाले सरकारमा नरँहदा पनि देश एमालेमय बनेको बताएका हुन् ।

उनले एमालेमा प्रवेश गर्नेको जनलहरले पाँच दलीय सत्तागठबन्धन सरकार आत्तिएको बताए । उनले चैतको पहिलो हप्तामा स्थानीय निर्वाचन गराउनुपर्ने समय आएको बताउँदै गठबन्धन सरकारले कुनै तयारी नगर्दा स्थानीय सरकारलाई कर्मचारीबाट चलाउने रणनीति बनाएको टिप्पणी गरे । उनले स्थानीय तहलाई कर्मचारीबाट चलाउँदा विकास निर्माणका कामहरु ठप्प हुने बताउँदै स्थानीय निर्वाचन समयमै गराउन खबरदारी आवश्यक रहेको समेत बताए ।

उनले कांग्रेसले धेरैपटक सत्ता चलाएको तर, विकासका कामहरु गर्न भने नसकेको उनको बताए । एमाले सरकारमा गएपछि मात्र विकासका कामहरु अघि बढ्ने भएकोले एमालेलाई पुनः सरकारमा लैजानुपर्ने उनको भनाई छ । उनले एमालेले सरकारमा रहँदा गरेको विकासका कामहरुले आउँदो स्थानीय, प्रदेश र केन्द्र निर्वाचनमा एमालेको बहुमत आउने विश्वास व्यक्त गरे । उनले एमालेले सडक, स्वास्थ्य शिक्षा क्षेत्रमा छुट्टाएको योजना तथा बजेट गठबन्धन सरकारले खारेज गर्दै कामहरु रोकेको बताए ।

उनले एमाले सरकारमा रहँदा भूमिहिन दलिल, सुकुम्बासी तथा अव्यवस्थितलाई जग्गाको स्वामित्व पूर्जा दिन भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेर काम सुरु गरेर अन्तिम चरणमा पुग्दा सरकार परिर्वन हुदाँ कांग्रेस–माओवादीको पाँच दलीय गठबन्धन सरकारले खारेज गरेको बताए । विष्टले अदालतको साहारामा बनेको पाँच दलीय सरकारले जनताको हितमा कुनैपनि कामहरु अघि बढाउन नसकेको समेत बताए । उनले हालको वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले विकास निर्माणको कामहरु गर्न नसक्ने टिप्पणी गरे ।

उनले देउवालाई पुर्व राजा ज्ञानेन्द्र शाहले असक्षम भन्दै प्रधानमन्त्री पदबाट हटाएको स्मरण गर्दै कांग्रेसबाट कुनै पनि विकासका कामहरु हुन नसक्ने बताए । उनले सुखि नेपाली र समृद्ध नेपालको अभियानलाई साकार गर्न लागि एमाले पुनः सरकारमा आउनुपर्ने बताए । उनले पार्टीका कार्यकर्ताहरुलाई अरुको आश्वासनमा विश्वास नगरी आफ्नै स्वरोजगारमूलक कृषि, उद्योग, व्यवसायिक उत्पादनमूलक कामहरु गर्न अनुरोध गरे ।