एमालेको सिन्धुली अधिवेशनः सर्वसम्मत नेतृत्व चयनको संभावना न्यून

तु खबर संवाददाता
२०७८ पुष १९, सोमबार १७:२९

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीको सातौं जिल्ला सम्मेलनको मिति नजिकिँदै गर्दा अध्यक्षलगायत सदस्यहरुमा सर्वसम्मत नेतृत्व छनोट हुने संभावना करिब अन्त्य भएको छ । आसन्न पुस २३ गते हुने जिल्ला सम्मेलनमा यो समाचार तयार पार्दासम्म आधा दर्जन अध्यक्षका आकांक्षी देखिएका छन् ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष प्रदीप कटुवाल, केशव देवकोटा, रामकुमार कार्की, खड्गबहादुर खत्री, डम्बर कार्की, कौशल कोइराला र बिनोद खड्का आकांक्षी देखिएका हुन् । सिन्धुलीका ९ वटै स्थानीय तहबाट सातौं जिल्ला अधिवेशनका लागि सर्वसम्मत छनौट भएका छन् । प्रतिनिधी छनौटका क्रममा उपस्थित जिल्ला नेतृत्वलाई प्रतिनिधीहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न दबाब दिएका थिए ।

अहिलेसम्मको अवस्थालाई हेर्दा जिल्ला नेतृत्वका लागि कार्यकर्ताहरुले भनेजस्तो सर्वसम्मत नेतृत्व चयन हुने अवस्था भने नरहेको बताइन्छ । नेकपा एमालेमा हक्की स्वभावका रुपमा चिनिएका केशव देवकोटा, सहकार्य र समन्वय गरेर पार्टीलाई एकताबद्ध एवम् बिलियो बनाउनुपर्छ भनेर लागिरहेका अध्यक्ष कटुवाल, सर्वसम्मत रुपमा आफुलाई नेतृत्व छनोट गरेर लैजानुपर्छ भनेर दबाब दिइरहने कौशल कोइराला र अर्का नेता रामकुमार कार्कीका बीचमा कार्यकर्ताहरु बीच कुराकानी चलिरहेको छ ।

तत्कालिन नेकपा विभाजनपछि सिन्धुलीमा पार्टी जोगाउन एवम् सबैलाई समेटेर अगाडि बढ्दै मध्यमार्गी भूमिकामा देखिएका कारण वर्तमान जिल्ला अध्यक्ष प्रदीप कटुवाल घोषित उम्मेदवारहरु मध्ये बलिया देखिन्छन् । चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्यमा दाबी गरिरहेका कटुवाललाई कुनै भूमिकामा नलागी जिल्ला पार्टी सञ्चालन गर्ने भनेर रोकिएको थियो ।

केन्द्रीय नेतृत्वको उक्त भनाई पछि जिल्लाका अन्य सहकर्मीहरुलाई विभिन्न भुमिकाममा उभ्याएर आफु पार्टीको जिल्ला अध्यक्षका लागि उभिएका कटुवालले अहिले भने केशव देवकोटा र नाताले आफ्नै जेठान रामकुमार कार्कीसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।

एमाले सिन्धुलीमा कार्यकर्ताहरु बीच तीन कुराले अहिले घर गरिरहेको छ । एकातिर आउँदो तीनै तहको निर्वाचन हाँक्नका लागि एउटा दरिलो र सबैलाई मिलाएर लैजानसक्ने नरम नेतृत्व चाहिएको छ । त्यसैगरी दोस्रोमा जिल्लामा हुने माओवादी अराजकता र आतंकका बिरुद्ध प्रतिरोध गर्नसक्ने सक्षम र सबल नेतृत्व अनिवार्य चाहिएको छ ।

त्यसैगरी तेस्रोमा पार्टीको दसौं महाधिवेशनबाट पारित कार्यदेशसँगै सोही ढंगको भावनात्मक एकता र अपनत्वसहितको कार्यविभाजनगरी पार्टीमा कुनै पनि गुट छैन र एकताबद्ध एमाले बनाउने गहन जिम्मेवारी पनि अबको सिन्धुली एमालेको नेतृत्वमाथि खोज्नुपर्ने छ । त्यसैले ठूलो दलका रुपमा रहेको एमालेको सातौं जिल्ला अधिवेशन सबैको चासो र उत्सुकताको विषय बनिरहेको छ ।

को बन्लान् एमाले सिन्धुलीका अध्यक्ष ?

एमाले सिन्धुलीमा अहिले देखिएका उम्मेदवारहरु मध्ये निरन्तर स्थानीय पार्टी कमिटी र कार्यकर्तामाझ जोडिनेमा कटुवाल अग्र पंक्तिमा पर्दछन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रकाबीच पार्टी एकिकरणपछि माओवादी दबदबामा कमजोर जस्ता देखिएका कटुवालसँगै जिल्ला नेताहरु विषमलाल अधिकारी, केशव देवकोटा, शान्तिमान कार्की, गणेश बुढाथोकी निरु दर्लामी लगायतको पछिल्लो भूमिकाकै कारण सिन्धुली एमाले नेकपाकै निरन्तरताको रुपमा बलियो पार्टी बनिरहेको तथ्यलाई सबैले राम्ररी बुझेका छन् । त्यसैले पनि अहिले सबल, सक्षम र पार्टीलाई भावनात्मक एकताका रुपमा जोडेर लैजानका लागि सिन्धुली एमालेमा कटुवालकै नेतृत्व जरुरी छ भन्ने जमात निकै बलियो देखिन्छ ।

बिगतमा माओवादी अतिवादबिरुद्ध प्रतिरोध गरेका केशव देवकोटानैं पार्टी अध्यक्ष चाहिन्छ भन्ने जमात पनि कम छैनन् । सिन्धुलीमा बढेको माओवादी अराजकताबिरुद्ध देवकोटाले मात्रै प्रतिरोध गर्न सक्छन् र पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्ने कुरामा उनी सक्षम छन् भन्ने कोणबाट अहिले चर्चा प्रारंभ भइरहेको छ । त्यसैगरी अध्यक्षका अर्का प्रत्यासी कार्की पुराना नेता मानिएपनि कटुवाल र देवकोटाको जस्तो कार्यकर्तामा कुनै विशेषण जोडिएको छैन । नाताले कटुवालका सहोदर जेठान रहेका उनी तत्कालिन महादेवडाँडा गाविसका निर्वाचित अध्यक्ष र पेशा व्यवसायमा जोडिएर पनि निरन्तर एमालेको राजनीतिमा सक्रिय बनिरहेका छन् ।

नेकपाको सरकार बनेपछि भूमि समस्या समाधान आयोगको सिन्धुली अध्यक्ष नियुक्त गरेको थियो । कार्कीले आफुमाथि पटक पटक पार्टीमा अन्याय भएकाले यस पटक आफ्नो अध्यक्षमा उम्मेदवारी रहने बताउँदै मत माग्न थालिसकेका छन् ।

को हुन प्रदीप कटुवाल ?

२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका कटुवालको राजनैतिक यात्रा निकै लामो र संघर्षपूर्ण छ । उनी पञ्चायत विरोधी आन्दोलनमा सिन्धुली जिल्लामा तत्कालिन संयुक्त बाम मोर्चाका सदस्य भएर अग्रणी भूमिका निर्वाह गरेका थिए । बामपन्थी नेता बोधराज काफ्ले, बुद्धराम श्रेष्ठ, भोजराज सत्याल, एकलाल श्रेष्ठ र नेपाली कांग्रेसका तर्फबाट माणिक ढकाललगायतको बाममोर्चामा कटुवालले निर्वाह गरेको भूमिकालाई धेरैले सम्झिरहेका छन् ।

कमिटीगत प्रणालीमा कहिले पछाडी त कहिले अग्रणी भूमिकामा रहेर निरन्तर राजनीतिलाई अगाडि बढाइरहेका कटुवाल एमाले सिन्धुलीका लागि बलिया खम्बानैं मानिन्छन् । पार्टी भित्र अन्तरविरोध बढाएर होइन, सबैलाई मिलाएर अगाडि बढ्नुपर्छ तब मात्रै लक्ष्यमा पुग्न सकिन्छ भन्ने मान्यतामा अडिग देखिएका कटुवाल प्रजातान्त्रिक राष्ट्रिय युवा संघ सिन्धुलीका अध्यक्षसमेत बनेर एमालेको राजनीतिमा युवाहरुलाई प्रवेश गराउने पात्रका रुपमा चिनिन्छन् ।

सिन्धुलीमा कटुवाललाई सबै राजनीतिक दललाई मिलाएर लैजाने र विकास निर्माण सामूहिक भावनाको विकास गराउँदै अभिभावकीय भूमिका निर्वाह गर्ने नेताका रुपमा चित्रण गरिन्छ । उनी राजनैतिक रुपमा एमालेको नेता मानिएपनि सामाजिक रुपमा सबैको प्रिय पात्रका रुपमा चिनिन्छन् ।