मकवानपुर प्रहरीद्वारा १ करोड बढी राजस्व संकलन

तु खबर संवाददाता
२०७८ पुष १९,सोमबार १०:२२

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपरले चालु आर्थिक वर्षको ५ महिनामा १ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । जिल्ला ट्राफिक कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार, जिल्लामा चालु आवको साउनदेखि मंसिर मसान्तसम्म १ करोड ८२ हजार सात सय रुपैयाँ राजस्व संकलन भएको छ ।

जसमध्ये साउन महिनामा १७ लाख ५८ हजार रुपैयाँ, भदौमा पनि १७ लाख ५८ हजार रुपैयाँ र असोजमा २४ लाख ३१ हजार रुपैयाँ, कार्तिक महिनामा ३३ लाख ८३ हजार रुपैयाँ र मंसिर महिनामा १४ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख प्रकाश पाण्डेले जानकारी दिए ।

उनका अनुसार, प्रहरीले मंसिर महिनामा ठूला सवारी साधनहरु (टक, ट्रिपर र ट्याङ्कर) बाट २ लाख ८० हजार रुपैयाँ, बसबाट २ लाख २ हजार रुपैयाँ, जीप/कारबाट १ लाख ९४ हजार ५ सय रुपैयाँ, मोटरसाइकलबाट १ लाख १५ हजार रुपैयाँ, ट्रयाक्टरबाट ५२ हजार ४ सय रुपैयाँ, तीन पाङ्ग्रे सवारी साधनबाट २ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

मंसिरमा राजस्व सोचेको भन्दा कम संकलन भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख पाण्डेले बताए । मंसिरमा जिल्लामा भएको थोरै ट्राफिक जनशक्ति पनि चिवतनमा भएको एमाले दशौं महाधिवेशनका क्रममा पठाउनु परेको र हेटौंडामा भएको नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा पूर्व–पश्चिम राजमार्गमा मात्र बढी खटिनुपर्ने भएकाले कम राजस्व संकलन भएको उनको भनाई छ ।