जिल्ला स्तरीय भलिवलको उपाधि सहिद सुनिता स्मृति प्रतिष्ठानलाई

तु खबर संवाददाता
२०७८ पुष १८,आईतवार ०८:२०

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित आमभञ्याङमा भएको पहिलो जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगिताको उपाधि थाहा नगरपालिका वडा नम्वर १ को सहिद सुनिता स्मृति प्रतिष्ठानले जितेको छ । शनिबार भएको फाईनल खेलमा प्रतिष्ठानले आयोजक आमभञ्याङ युवा क्लबलाई २५–१७, २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

उपाधि विजेता प्रतिष्ठानले नगद ६६ हजार ६ सय ६६ रुपैँयासहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता आमभञ्याङले ३३ हजार ३ सय ३३ रुपैँया सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो । यस्तै, तेश्रो स्थानको आग्रा खेलकुद विकास समितिले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना भएको छाहारी क्लबले ५ हजार प्राप्त गरेको थियो ।

प्रतियोगितामा आग्राका सविन कार्की वेष्ट ब्लकर हुँदा प्रतिष्ठानका राजकुमार कर्मचार्य वेष्ट सेटर, आमभञ्याङका आषिश घलान वेष्ट स्पाईकर तथा प्रतिष्ठानकै राजाराम घलान वेष्ट प्लेयर भए । उनीहरुले नगद पाँच हजार रुपैयाँसहित ट्रफि पाएका थिए । उनीहरु सबैलाई गाउँपालिका अध्यक्ष विदुर हुँमागाई सहितको अतिथिहरुको टोलीले पुरस्कृत गरेको थियो ।

कार्यक्रममा प्रतियोगिताका संयोजक इन्द्र प्रसाद सञ्जेललाई आयोजक क्लबले विषेश सम्मान गरेको थियो । कार्यक्रमको अवसर पारेर मकवानपुरका पत्रकार धर्मेन्द्र दाहाललाई स्वर्गीय केशवलाल स्मृति पत्रकारिता पुरस्कारबाट नगद ११ हजार १ सय ११ सहित सम्मानपत्रद्वारा सम्मानित गरिएको छ । समापन कार्यक्रममा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यलय प्रमुख खुसराज दाहाल लगाएतको उपस्थिती रहेको थियो ।