नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

तु खबर संवाददाता
२०७८ पुष १६, शुक्रबार १२:५४

माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनकै बीचमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको स्थायी समिति बैठक बसेको हो । समूहगत छलफलमा निष्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरूको प्रस्टीकरणको तयारी हुँदै गर्दा स्थायी समिति बैठक बसेको हो ।

आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहबाट आएका सुझावको प्रस्टीकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक राखिएको हो । आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिका प्रश्नको जवाफ दिने भएका छन् । प्रचण्डले जवाफ दिएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुुरु हुने भएको छ । स्थायी समिति बैठकमा पदाधिकारीमा सर्वसम्मत बनाउने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।