लागूऔषध गाँजासहित हेटौंडाबाट ३ जना पक्राउ

तु खबर संवाददाता
२०७८ पुष १३, मंगलवार १४:३८

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६९ किलो ५ सय ग्राम लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्वर– ५ घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर–७ कमाने बस्दै आएका ३४ बर्षीय सिताराम मोक्तान, कैलाश गाउँपालिका वडा नम्वर– १ बस्ने ३३ बर्षीय अमरबहादुर गिरी र सोही स्थान बस्ने २६ बर्षीय इन्द्रबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिएका छन् ।

उनीहरुलाई सोमबार साँझ ५ः४५ बजे प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १ स्थित पालुङ बसपार्कबाट पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ना १ ह ७६३८ नम्वरको अटोलाई चेकजाँच गर्दा तरकारीको बोरा भित्र लुकाई छिपाई ल्याइएको १० वटा पोकाको साढे ६९ किलो गाँजा फेला परेपछि प्रहरीले उक्त अटो नियन्त्रणमा लिनुको साथै गाँजा बरामद गरेको छ ।

३४ बर्षीय मोक्तान अटो चालक हुन् भने अन्य दुई जना सो लागूऔषध गाँजा ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो समय गाँजा फडानी र ओसारपसारको घटना नियन्त्रणमा सक्रियता देखाउँदै आएको छ ।