दूधकोशी आयोजनामा पाइप पड्किँदा २ इन्जिनियरको मृत्यु

काठमाडौँ । सोलुखुम्बुमा सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा पाइप पड्किएर भएको दूर्घटनामा दुई जना इन्जिनियरको मृत्यु भएको छ । आइतबार दिउँसो परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप पड्किएर आयोजनामा कार्यरत दुई जनाको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापा रहेका छन् । परीक्षणका क्रममा पाइपमा पानी हालेपछि विष्फोटसहित जोडिएको भाग छुटिएर घटना भएको हो । थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राइका अनुसार पाइप पड्किएर बेहोस भएका उनीहरुलाई खराब मौसमका कारण समयमै उद्धार गर्न सकिएको थिएन ।
उनका अनुसार हेलिकोप्टर बोलाएपनि खराब मौसमले जान नसकेपछि ओखढुंगाको मिसन अस्पतालमा लगिएको थियो, तर, उनीहरुलाई अस्पतालले मृत घोषित गर्यो । घटनामा घाइते भएका एक एक इन्जिनियर काठमाडौंमा ल्याएर उपचार भइरहेको उनले जानकारी दिए ।