माओवादीको राष्ट्रिय सम्मेलन : उद्घाटन सत्रमा प्रमुख राजनीतिक दललाई निम्तो

तु खबर संवाददाता
२०७८ पुष ११, आईतवार १०:०५

मकवानपुर । नेकपा (माओवादी केन्द्र) ले आज (आइतबार) देखि सुरु हुने राष्ट्रिय सम्मेलनको उद्घाटनमा सत्रमा देशमा प्रमुख राजनीतिक दलहरुलाई बोलाइएको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार नेपाली कांग्रेस, नेकपा एमालेसहित प्रमुख राजनीतिक दलहरुलाई निम्ता गरिएको जानकारी दिए ।

उनका अनुसार, यसअघि दिउँसो १ बजे सुरु गर्ने भनिएको उद्घाटन सत्र केही समय ढिला गरी ३ बजेबाट सुरु गरिने भएको छ । माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय शनिबार बसेको स्थायी समितिको बैठकले गरिसकेको छ । महाधिवेशनमा परिणत गर्ने निर्णयलाई आइतबार बिहान बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्न बाँकी छ ।

राष्ट्रिय सम्मेलन (आठौँ महाधिवेशन) मा सहभागी हुनका लागि देशभरका सात वटै प्रदेश र तीन वटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौँमा आइसकेका छन् । सम्मेलनमा १६०० बढीको हाराहारीमा प्रतिनिधि सहभागी हुनेछन् । १४८३ नियमित प्रक्रियाबाट छानिएका र १० प्रतिशत अर्थात १४८ जना मनोनीत प्रतिनिधि सहभागी हुने भएका हुन् ।

आयोजक समितिबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् । सम्मेलनबाट १५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय नयाँ नेतृत्व पनि चयन हुनेछ ।