सातामा १५ सयले बढ्यो सुनको भाउ
काठमाडौं । यस सातामा सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको भाउ प्रतितोला एक हजार ५०० रुयैयाँले बढेको जनाएको छ । गत साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको मूल्यमा उक्त वृद्धि आएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला १ हजार ५०० ले बढेर ९४ हजार रुपैयाँ पुगेको छ । यस्तै, गत साताको शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य हिजो शुक्रबार ९३ हजार ५०० रुपैयाँ पुगेको छ ।
यसका साथै, साताभरमा चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले उकालो लागेको महासंघले जानकारी दिएको छ । चाँदी गत साताको शुक्रबार प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी हिजो (शुक्रबार) प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।
