प्रथम अन्तरपालिका फुटबलको उपाधि थाहा नगरलाई
मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको पहिलो संस्करणको अन्तरपालिका पुरुष फुटबलको उपाधि थाहा नगरपालिकाले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा हेटौंडा उपमहानगरपालिकालाई सडन डेथमा हराउँदै थाहा नगरले पहिलो संस्करणको उपाधि हात पारेको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित हुप्राचौरमा शनिबार भएको प्रतिस्प्रधामा निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाई ब्रेकरमा पनि बराबरी भएपछि सडन डेथमा थाहाले उपाधि हात पारेको हो । सडन डेथमा हेटौंडाका खेलाडीले प्रहार गरेको बल बाहिर गएपछि थाहा नगरपालिकाले २–१ उपाधि चुमेको हो ।
विजेता बनेसँगै थाहा नगरपालिकाले उपाधिसहित नगद २ लाख रुपैयाँ प्राप्त गरेको थियो भने हेटौंडाले नगद एक लाख रुपैयाँ प्राप्त गरेको थियो । प्रतियोगितामा हेटौंडाका फत्तेमान घले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार प्राप्त गरे । यस्तै, विधागत रुपमा थाहा नगरपालिका राजन गोले उत्कृष्ट फरवार्ड, हेटौंडाका गगन सिलवाल उत्कृष्ट डिफेन्डर, थाहाका विशाल स्याङ्तान उत्कृष्ट मिडफिल्डर, हेटौंडाका सफल तिमल्सिना उत्कृष्ट गोलकिपर र थाहाका नरेन्द्र मोक्तान उत्कृष्ट प्रशिक्षक घोषित भई जनही नगद ३÷३ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका थिए ।
प्रतियोगिताका विजेताहरूलाई बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिमाल, हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, हेटौंडा–१४ का वडाध्यक्ष दिपक खड्का, हेटौंडा–१० का वडाध्यक्ष किताबसिंह लामा, खेलकुद विकास समितिका अध्यक्ष सानु लामालगायतले पुरस्कार प्रदान गरेका थिए ।
