चेपाङ समुदायकै पहिलो मन्त्री बन्दै सन्तबहादुर

तु खबर संवाददाता
२०७८ मंसिर २४, शुक्रबार ०८:३७

मकवानपुर । बागमती प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, चेपाङ समुदायकै पहिलो मन्त्री बन्ने भएका छन् । उनलाई उनको संसदीय दल नेपाली कांग्रेसले राज्यमन्त्री बनाउन लागेको हो । यसअघि उनलाई पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद् बनाएका थियो।

चेपाङ समुदायबाट यसअघि मकवानपुरका गोबिन्दराम चेपाङ संविधानसभा सदस्य थिए । चेपाङ समुदायबाट सन्त नै पहिलो मन्त्री बन्ने भएका हुन् । आफूले दलबाट प्राप्त सिफारिसपत्र मुख्यमन्त्रीलाई बुझाइने उनले जानकारी दिए । उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्री बन्नेछन् । अन्य दलबाट पनि राज्यमन्त्री थप्ने तयारी भए पनि दलभित्र छलफल भइरहेको जनाइएको छ । मकवानपुरका बिकट काँकडामा जन्मिएका सन्त २०४८ सालदेखि निरन्तर राजनीतिमा छन् ।

२०४८ सालमा काँकडा गाउँ एकाई सदस्य, २०५३ सालमा वडा सभापति, २०५४ सालको स्थानीय चुनावको प्रचारप्रसार संयोजक हुँदा नेकपा एमालेको निर्घात यातना, २०५६ सालमा नेपाल तरुण दलको काँकडा वडा एकाई सभापति, २०५९ सालमा तत्कालीन पार्टी विभाजनमा काँकडा गाउँ एकाई सभापति र २०५९ सालमा पार्टी एकीकृतपछि उनी गाउँ एकाई सचिव भएका थिए ।

२०६२ सालदेखि २०६७ सालसम्म पार्टीबाट सर्वदलीय संयोजक, २०६४ सालमा पहिलो संविधानसभा निर्वाचन प्रचारप्रसारमा नेकपा माओवादीबाट निर्घात घाइते तथा यातना, मकवानपुरको नेपाल चपाङ संघको अध्यक्ष, नेपाली कांगेस जिल्ला कार्यसमिति सदस्य, १० औं महाधिवेशन मकवानपुरका निर्वाचन क्षेत्र नम्बर–४ प्रत्यासी सभापति भएका थिए। उनी नेपाल चेपाङ संघ केन्द्रीय सदस्य, १३ औं महाधिवेशन प्रतिनिधि, राक्सिराङ गाउँपालिका कार्यपालिका सदस्य भए भने हाल उनी वागमती प्रदेशसभा सदस्य छन् । केही दिनअघि भएको नेपाली कांग्रेसको १४ औं ुमहाधिवेशनका केन्द्रीय प्रतिनिधिमा उनी निर्वाचित भएका छन ।