कांग्रेस बागमती प्रदेश सभापति पदका लागि पुनः मतदान सुरु

तु खबर संवाददाता
२०७८ मंसिर १९, आईतवार १४:०६

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको १४ औँ महाधिवेशन हेटौंडामा जारी बागमती प्रदेश अधिवेशनमा सभापतिको पुनः मतदान सुरु भएको छ । शनिबार भएको निर्वाचनमा सभापतिको लागि उम्मेदवारी दिएकामध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान सुरु भएको हो ।

निर्वाचन अधिकृत केशव काफ्लेका अनुसार, कांग्रेसको विधानमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेको छ । सो प्रावधान नपुगेकोले सभापति पदका लागि पुनः मतदान सुरु भएको हो । पुनः मतदानका लागि तयारी भइरहेको छ । कांग्रेस बागमती प्रदेशको सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये इन्द्रबहादुर बानियाँले ९ सय ९२, जगदिश्वर नरसिंह केसीले ८ सय ७७ र भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए ।

बानियाँले कुल मतको ४८ प्रतिशत मत प्राप्त गरेका छन् । मतगणनाको सुरुवातदेखि नै बानियाँले लिड लर्दै आइरहेका थिए । दोस्रोमा केसी थिए भने तेस्रोमा प्रधान रहेका थिए । यसअघि हिजो भएको मतदानमा २ हजार ८३ मत खसेको थियो । २ हजार १ सय ५१ जना प्रतिनिधि सहभागी रहेको भएपनि २ हजार ८३ मत खसेको थियो । मतदानका लागि ७ वटा मतदान केन्द्र स्थापना गरिएको छ । अपराह्न ५ बजेसम्ममा मतदान सम्पन्न भइसक्ने जनाइएको छ ।