कांग्रेस बागमती प्रदेश अधिवेशन : नयाँ नेतृत्वको लागि आज मतदान

तु खबर संवाददाता
२०७८ मंसिर १८, शनिबार ०८:०९

मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) मतदान हुँदैछ । हेटौंडा उपमहनगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) को खेल मैदानमा जारी अधिवेशनमा आज बिहान ९ बजेबाट मतदान सुरु हुने मतदान अधिकृत केशवराज काफ्लेले जानकारी दिए ।

मतदान प्रकृया अन्तर्गत गएराति निर्वाचन अधिृकतको कार्यलयले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको थियो । कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेहरुमा  ईन्द्रबहादुर बानियाँ, जगदीश्वरनरसिंह केसी र भिमसेन दास प्रधान रहेका छन् । उनीहरुले शुक्रबार जारी अधिवेशन अन्तरगत मनोनयन दर्ता गराउने समयतालिका अनुसार सभापति पदमा उम्मेदवारी दिएका हुन् ।

त्यसैगरी, कांग्रेस बागमतीको उप–सभापतिमा ४ जनाको, महामन्त्रीमा ६ जनाको र सह–महामन्त्री महिला तर्फ ३ जना र सह–महामन्त्री खुल्ला तर्फ ७ जनाको उम्मेदवारी परेको मतदान अधिकृत काफ्लेले बताए । सभापति पदमा उम्मेदवारी दिएका बानियाँ र केसीले आ–आफ्नो प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

बानियाँको प्यानलबाट उप–सभापतिमा चन्द्र महर्जन र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सह–महामन्त्रीमा महेन्द्र थिङ, हरिशरण श्रेष्ठ र निर्मला खड्काले उम्मेदावारी दिएका छन् । यस्तैगरी, केसीको प्यानलबाट उप–सभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा माइकल रामचन्द्र अर्याल र कंचन चन्द्र बादेको उम्मेदावारी दिएका छन् ।

उम्मेदवारी दिएका बानियाँको प्रस्तावकमा तीर्थ लामा र समर्थक दुर्लभ थापा, केसीको प्रस्तावकमा मधुप्रसाद आचार्य र समर्थकमा कृष्ण बानियाँ, प्रधानको प्रस्तावकमा शिवप्रसाद हुमागाईं र समर्थकमा कुन्दनराज काफ्ले रहेको निर्वाचन समितिले जनाएको छ । बिहिबारबाट सुरु भएको अधिवेशनमा प्रदेश प्रतिनिधिको रुपमा चुनिएर आएका १ हजार २ सय ४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि, ८ सय ७६ प्रदेश प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी जम्मा २ हजार १ सय ३७ जनाले निर्वाचनमा मतदान गर्नेछन् । प्रदेशको संरचनाअनुसार कांग्रेसको प्रदेश निर्वाचन पहिलो पटक हुन लागेको हो ।